कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीकी १७ वर्षीया निरुता भण्डाराका दुवै खुट्टा छैनन् । अपाङ्गता भएर पनि उनी अहिले मज्जाले हिँडडुल मात्र गर्दिनन्, घरको सबै काम पनि गर्छिन् ।
साँडेपानीमै रहेको दशरथ माविमा १० कक्षामा अध्ययनरत उनी सुनौलो भविष्यको पर्खाइमा सक्दो मेहनत गर्दैछिन् ।
जन्मेको ५ महिनामा उनका खुट्टा आगोमा जले । ‘मलाई त सम्झना छैन,’ उनले भनिन्, ‘मलाई ५ महिना मात्र भएको थियो रे १ आँगनमा खेल्दै रहेछु, खेल्दाखेल्दै आगोमा जल्न पुगें । म सानो हुँदा हात खुट्टाले हिँड्थे, यताउता हिँडडुल गर्न निकै गाह्रो हुन्थ्यो मलाई ।’
निरुताकी हजुरआमा पानकलाले भनिन्, ‘५ महिलाकी मात्रै थिई, खाटमा राखेको थिएँ, छेउमै आगोको चुलो थियो । खै कसरी त्यसमै खसी रु दुवै खुट्टा जले ।’
उनका हजुरबुवालाई त्यो घटना ताजै लाग्छ । उनी भन्छन्, ‘नातिनी आगोमा जलेपछि उपचारका लागि २ महिना सेती अस्पतालमा बिताएँ । डाक्टरले औषधि उपचार गरेर मल्हम दिनुभयो । तर औषधि उपचार र मल्हमले केही फरक नपारेपछि फेरि हामी अस्पताल गयौं । नातिनीको खुट्टाको हड्डी जलेर कोइला भइसकेको रहेछ, उपचार सम्भव नभएपछि डाक्टरकै सल्लाहमा नातिनीका खुट्टा काट्यौं ।’
यति सुनेपछि हजुरबुवाको छेउमै रहेकी निरुताका आँखा रसाए । ‘५ महिनाको उमेरमै खुट्टा गुमाएकी म हिडडुल गर्न कसरी सक्थे र रु’ टिलपिल आँसु पुछ्दै उनले भनिन्, ‘बचेको खुट्टा पनि काट्नु परेपछि निकै पीडा खेप्नुपर्यो । खुट्टा काटेपछि मैले झन् पीडा खेप्दै घुँडाको सहायताले नै अलिअलि गरेर हिँड्न सिकें ।’
समय बित्दै गयो । निरुता पनि स्कूल जाने उमेरकी भइन् । ‘स्कूल जान पनि निकै गाह्रो हुन्थ्यो मलाई,’ उनले भनिन्, ‘मैले अहिले त नक्कली खुट्टा हालेको छु र केही सजिलो भएको छ । त्यतिखेर त थिएन । साथीहरू सबै स्कूल पुगिसक्थे, म भने घुँडाकै सहायताले स्कूल जान्थें, त्यसरी जाँदा सधैं ढिला हुन्थ्यो ।
निरुतालाई १० वर्ष हुँदा उनका बुवाको सवारी दुर्घटनामा मृत्यु भयो । परिवारको खम्बा नै ढलेपछि उनको परिवारमा झन् बज्रपात पर्यो ।
हाल निरुता प्लास्टिकको खुट्टाको सहायताले हिँडडुल गरिरहेकी छन् । ‘मलाई अहिले निकै सहज भएको छ,’ उनले भनिन्, ‘पहिला धेरै दुःख भोग्नुपर्यो । अहिले त मलाई म अपाङ्ग हुँ जस्तो लाग्दैन । मैले घरको सबै काम पनि गरिरहेकी छु । मैले खुट्टा गुमाएकी हुँ, साहस गुमाएकी छैन ।’
१० कक्षामा अध्ययन गरिरहेकी उनले अझै आफ्नो लक्ष्य तय गर्न सकेकी छैनन् । अहिले उनलाई धेरै पढेर ठूलो मान्छे बन्ने रहर मात्र छ । कस्तो ठूलो मान्छे हो रु उनलाई थाह छैन ।
‘धेरै समस्या र चुनौतीका बीच यहाँसम्म पुगें, अझै मेहनतका साथ धेरै पढ्छु,’ उनले भनिन्, ‘मैले अपाङ्ग जीवन बिताइरहँदा दुःख पाएको मेरो परिवारमा खुशी फर्काउनु छ । म पढाइमा सफल भए जागिर कसो नमिल्ला र रु सक्दो मेहनत गर्छु ।’
सुनौलो भविष्यको पर्खाइमा रहेकी निरुता भन्छिन्, ‘गन्तव्य भेटिन्छ पक्कै बाटो समातेपछि, अँध्यारो हराउँछ यसै उज्यालो पाटो समातेपछि, सपनाको होइन यहाँ बिपनाको खेती गर्नु छ, जरा आफैंले टेकेर उभिन सक्छ माटो समातेपछि ।’