सुदूरपश्चिमका थप तीन जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्।आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी,पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरूले पार्टी विभाजनसँगै आज औपचारिक रूपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेका हुन्।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा सनाखत गरिसकेका छन्।
यो सँगै सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको सङ्ख्या १३ पुगेको छ।
निर्वाचन आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा भदौ २२ गतेभित्र सनाखत गर्न समय तोकेको छ।