नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका एकजना सदस्य योगेन्द्र चौधरीले डडेल्धुरा जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद निराधार भएको जनाएका छन् । समितिले डडेल्धुराको क्रियाशील सदस्यतालाई सर्वसम्मत रुपमा टुंग्याएको उनको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर केन्द्रमै विवाद देखिएको छ भने डडेल्धुरामै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले क्रियाशील सदस्यता नामावली अस्वीकार गर्दै अधिवेशन प्रक्रिया बहिष्कार गरेको छ । २५ भदौमा सम्पन्न वडा अधिवेशनमा जिल्ला सभापति मल्ल पक्ष अनुपस्थित थियो ।
डडेल्धुराको क्रियाशील सदस्यतालाई लिएर सभापति देउवाविरुद्ध मोर्चाबन्दी सुरु भइसकेको छ । तर छानविन समितिले भने क्रियाशील सदस्यलाई लिएर जारी विवाद नियोजित भएको दावी गरेको छ ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्य चौधरीले डडेल्धुराको विवाद सभापति देउवालाई विवादमा ल्याउन गरिएको प्रचारबाजी मात्रै भएको बताए । ‘यो जति पनि मिडियावाजी भइरहेको छ, यो विवाद नियोजित हो,’ उनले भने, ‘अनावश्यक रुपमा सभापति देउवालाई विवादमा पार्ने नियोजित प्रयास भइरहेको छ । छानविन समितिले सर्वसम्मत रुपले टुंग्याएको विषयमा सभापतिलाई जोडेर विवाद गर्नुपर्ने कुरै थिएन ।’
उनले क्रियाशील सदस्यतामा आशंका भए छानविन समितिको कार्यसम्पादनमाथि प्रश्न उठाउनु उचित हुने बताए । उनले भने, ‘कि त छानविन समितिको कार्यसम्पादनको क्षमतामाथि प्रश्न उठाउनुपर्ने थियो । हामीले कार्यविधिलाई टेकेर निर्णय गरेका हौं । यसमा सभापतिको कुनै दबाब थिएन ।’
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले क्रियाशील सदस्यतामाथि परेका उजुरीको छानविन गरेको हो । समिति सदस्यहरु चौधरी र कल्याण गुरुङलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको क्रियाशील सदस्यता हेर्ने जिम्मा दिइएको थियो ।
समिति सदस्य चौधरीका अनुसार समायोजनअन्तर्गत तत्कालीन नेकपा माओवादी केन्द्रबाट कांग्रेस प्रवेश गरेका नेता जनकराज कलौनीलाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय भएकोमा समितिले करिव दुई सय ३० जनाको मात्रै स्वीकृत गरेको थियो । त्यस्त मापदण्ड विपरीत जिल्लाले वितरण गरेका तीन सय आठ वटा क्रियाशील सदस्यतालाई पनि सूचीबाट हटाइएको हो ।