संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्।
सोहीअनुसार कञ्चनपुर कारागारमा रहेका ७ र कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको छ। कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेलर माया बस्नेत थापाले बताइन्। कैद मिनाह हुनेमा शिवराज भटट (कर्तव्य ज्यान मुद्दा), प्रेमसिंह भण्डारी (कर्तव्य ज्यान मुद्दा), रोहित आउजी (वहुविवाह), करिना विश्वकर्मा (वहुविवाह), माया चन्द पाल (वहुविवाह) र खुशीराम चौधरी (चोरी मुद्दा) रहेको उनले बताइन्।
यस्तै कैलाली कारागारमा रहेका खेमा कुमारी अर्याल देवकोटा(कर्तव्य ज्यान मुद्दा) चक्रबहादुर चौधरी(सवारी ज्यान मुद्दा), प्रेम सिंह साउँद(सवारी ज्यान मुद्दा), रामप्रसाद राना(कर्तव्य ज्यान मुद्दा), कृष्ण कुमार चौधरी(कर्तव्य ज्यान मुद्दा) र कृष्ण शर्मा(कर्तव्य ज्यान मुद्दा) तिवारीको कैद सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर बिरेन्द्र बहादुर बोहराले बताए। ५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको उनले बताए।
हाल कञ्चनपुर कारागारमा ४ सय ७ जना र कैलाली कारागारमा ४ सय ९३ जना कैदीबन्दी रहेका छन्। नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसला लगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको कैद मिनाहा गरी माफी दिइएको हो।