धनगढी, कार्तिक २२ – कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी हुने भएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवा क्लबले पाचौं संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैटौँ संस्करण मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने जनाएको हो ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।
उनका अनुसार प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने छ । धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।