कर्णाली नदीमा डुङ्गा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बेपत्ता तीन जना अझै फेला परेका छैनन् ।
कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ बर्सिया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले बताए ।
‘बेपत्ता भएकाहरूको खोजी कार्य जारी नै छ,आधा घण्टा अगाडी घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौँ,’ इन्चार्ज कुमालले भने, म सहित चार जनाको टोलीले निरन्तर खोजी गरिरहेका छौँ ।’
‘सन्तुलन नमिलेर डुङ्गा दुर्घटना भयो,घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय सुँगरखाल कैलालीका इन्चार्ज कुमालले भने,‘सुत्केरी खोप लगाउन हिँडेकी २२ बर्सिया धनसरी सलामीको मृत्यु भएको छ,उनका २४ दिने छोरा कर्ण सलामी मगर र ४ महिनाको सुशान्त आलेमगर घाइते छन् । घाइते मध्ये कर्ण सलामीको सोल्टामा र सुशान्तको बिजौरामा उपचार भइरहेको छ,अन्य चार जना सकुशल छन्।’
बेपत्ता रहेकाहरूमा २० बर्सिया पार्वती थापा मगर,२२ बर्सिया इन्द्रा सलामी मगर र उनकी १० दिने छोरी प्राप्ति सलामी मगर रहेका छन् ।
घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको छ ।
कैलालीको मोहन्याल गाउँपालिका—३ राँगा मलेखा र सुर्खेतको चौकुने गाउँपालिका—४ बिचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान करिब १० डुङ्गा पल्टिएको थियो ।
उनीहरू खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
राँगा मलेखाका नागरिकहरू पुल नहुँदा डुङ्गा चढेरै बिजौराबाट सेवा लिने गरेका छन् । हरेक महिनाको १७ गते बालबालिका तथा गर्भवती महिलाहरूलाई ‘बिजौरा स्वास्थ्य चौकीमा’ खोप लगाइन्छ । माहोन्याल गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र बजारसम्म जान यहाँका नागरिकहरूलाई एक दिन लाग्ने र बिजौरा आउन आधा घण्टा लाग्ने भएका कारण दैनिक उपभोग्य सामग्री र अन्य सेवा सुविधा बिजौराबाटै लिने गरेका छन् ।