कैलालीको मोहन्याल र सुर्खेतको चौकुने जोड्ने झुलुङ्गेपुल बन्ने भएको छ । गत साउन १७ गते ९ जना सवार डुङ्गा दुर्घटना पछि सबैको ध्यान यस क्षेत्रमा केन्द्रित मात्र भएको छैन पुल निर्माणको योजना समेत अघि सारिएको छ ।
जस अन्तर्गत पुल सर्भेको काम सकेर टोलि फिर्ता गइसकेको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवीन गिरीले जानकारी दिएका छ्न । उसो त वडा अध्यक्ष गिरीका अनुसार सोही ठाउमा यस अघि पनि दुई पटक पुलको सर्भे भइसकेको छ । संघीय सरकार मार्फत यहि पुलका लागि यो सहित ३ पटक सर्भे भइ सक्यो । उनले भने,… “सर्भे हुने तर पुल नबन्ने समस्या छ । हेरौ यो पटक बन्छ कि !”
यता सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले भने यस अघिका सर्भेका बिषयमा आफुलाइ जानकारी नभएको बताएका छ्न । सम्बन्धि निकायमा त्यसबारेका केही पनि रिपोर्ट फेला नपरेकाले पुन: सर्भेटोलि खटाएको बताउदै सांसद रावलले डिपिआर बने लगत्तै पुल निर्माणको काम सुरु हुने दाबी गरेका छ्न । हालको समस्या समाधानका लागि झुलुङ्गे पुल निर्माण हुने हो । उनले भने,… “त्यस क्षेत्रका नगरिकलाइ सामान्य सेवा लिन अर्को जिल्ला जानु नपर्ने गरि आवश्यक सबै सेवा बिस्तारमा समेत जोड दिन्छौ ।”
भौगोलिक बिकटताका कारण मोहन्याल गाउँपालिका ३ रागामलेखाका स्थानीयहरु स्वास्थ्य तथा अन्य सेवाहरु लिन हाल पनि सुर्खेत जाने गरेका छ्न । सोही क्रममा गत साउन १७ गते गर्भवती जाँच तथा बालबालिकालाई खोप लगाउन रागामलेखाबाट सुर्खेतको भुडेभावर हिडेकाहरुको कर्णाली नदिमा डुङ्गा दुर्घटना हुदा १ बालक सहित ४ जनाको ज्यान गएको थियो । ती मध्ये एक बालक र एक गर्भवती महिलाको अवस्था अझै पनि अज्ञात छ । सुर्खेत जान रागामलेखाबाट करिब ३ किलोमीटरको दुरिमा पुल बनेको भएपनी सहजताका लागि स्थानीयहरुले नदिमा डुङ्गाको प्रयोग गर्दै आएका छन् ।