भीमदत्त नगरपालिका-४ भगतपुरका दलित समुदायका तीन जनाले जातीय विभेद भएको भन्दै चार जनाविरुद्ध आज प्रहरीमा जाहेरी दिएका छन्।
उनीहरूले चार जनालाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाही गर्न माग गरेका छन्।
भगतपुरका सिद्धु दमाईसहित मथुरा दमाई र तुलसी दमाईले स्थानीय प्रकाश भट्ट, राधिका विष्टसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।
प्रहरीमा दिइएको जाहेरीमा उनीहरूले चार जनाले आफूहरू बाटोमा उभिएको बेला जातीय रुपमा अपशब्द प्रयोग गरी जातीय विभेद र सार्वजनिक बेइज्जत गरेको उल्लेख गरेका छन्।
उनीहरूको जाहेरीमा भट्ट सहितले आफूहरूको अगाडि ‘ढोलीहरूले गाडी राखेर सान देखाउन नहुने’ भनेर जातीय रुपमा अपमानित गरिएकाले कारबाही गर्न माग गरिएको छ।
जातीय रुपमा अपमान गर्दै उनीहरूले प्रहरीमा उजुरी दिए पनि केही नहुने भन्दै धम्की दिएको जाहेरीमा उल्लेख गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जातीय विभेदको जाहेरी आएको र त्यसबारे बुझ्ने कार्य भइरहेको जनाएको छ।