धनगढी,१६ माघ- आगोले जलेर अवस्था गम्भीर भएकी कैलालीको बर्दगोरियाकी ४८ बर्सिया देवकी न्यौपाने (ओली) आर्थिक अभावका कारण उपचार सेवाबाट वञ्चित भएकी छिन् ।
गत माघ ९ गते घरमा आगो ताप्नेक्रममा जलेकी न्यौपानेको धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसियुमा सात दिन सम्म राख्दा पनि अवस्थामा सुधार नभए पछि नेपालगन्ज रिफर गरेको छ ।
कमजोर आर्थिक अवस्थाकी उनको चन्दा सङ्कलन गरेर सेतीमा उपचार थालिएको थियो । चन्दा उठेको रकम समेत सकिए पछि अन्यत्र लैजान समस्या भएको परिवार श्रोतले जनाएको छ । आगोका कारण छाती र कम्मरको बिच भागमा अत्यधिक जलेको छ ।
‘जलेको भाग हेर्न सकिने अवस्था छैन । सेतीमा सात दिन राख्दा सहयोग उठेको सबै पैसा सकियो । अस्पतालले नेपालगन्ज नभए काठमाडौँ लैजाऊ भनेको छ । हामी सँग पैसा छैन । त्यसैले घरमै ल्याएर राखेका छौ,’पीडित देवकीकी छोरी चन्द्रिकाले भनिन् ।
उपचारमा सहयोग गरिदिन परिवारले अपिल गरेको छ । उनको सहयोगका लागि स्थानीय लक्ष्मण सापकोटाको अगुवाइमा सहयोग समेत सङ्कलन थालिएको छ । परिवारको बैङ्क खाता अभावमा सहयोगी मनहरूले सापकोटाको नाममा एभरेस्ट बैङ्कमा रहेको खाता नम्बर ०६८००५०१२०००२९ मा सहयोग गरिदिन वा मोबाइल नम्बर ९८४८५९७३७८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।