धनगढी, माघ २२ गते ।
प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवस सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भव्यताका साथ मनाएको छ। स्थापना दिवसको सुखद अवसर पारेर चौतारीले पत्रकारहरूको पेसागत सुरक्षा र वृत्तिविकासका लागि महत्त्वपूर्ण घोषणा गर्नुका साथै उत्कृष्ट कार्य गर्ने पत्रकार र शाखाहरूलाई पुरस्कृत गरेको छ।
सुदूरपश्चिम प्रदेश कमिटी र कैलाली जिल्ला कमिटीद्वारा संयुक्त रूपमा आयोजित सो विशेष कार्यक्रममा पत्रकारहरूको हकहितका लागि १० लाख रुपैयाँको लक्ष्यसहित ‘पत्रकार अक्षयकोष’ स्थापना गरिएको छ। प्रेस चौतारी कैलालीका अध्यक्ष जनक विष्टका अनुसार हाल १ लाख ५८ हजार ३०० रुपैयाँ जम्मा भइसकेको उक्त कोषबाट नेपाल पत्रकार महासंघका सदस्य र उनीहरूका परिवारलाई आपतकालीन समयमा आवश्यक आर्थिक सहायता उपलब्ध गराइनेछ।
कार्यक्रममा व्यावसायिक पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै विभिन्न विधामा सुदूरपश्चिमका पाँच पत्रकार र दुई जिल्ला शाखालाई सम्मानित गरियो। प्रेस चौतारी सुदूरपश्चिम शाखाले स्थापना गरेको ‘कर्ण बोहरा स्मृति पत्रकारिता पुरस्कार’बाट कैलालीका एकिन्द्र तिमिल्सेना र बाजुराकी सरिता नेपाली पुरस्कृत हुनुभयो। यस्तै, ‘दीर्घ खत्री स्मृति पत्रकारिता पुरस्कार’बाट बझाङका रमेश विष्ट सम्मानित हुनुभयो।
जिल्ला शाखाले स्थापना गरेको ‘चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कार’बाट लिलाजंग शाही र ‘सृजनशील युवा पत्रकारिता पुरस्कार’बाट कमल साउदलाई पुरस्कृत गरियो। संस्थागत मूल्याङ्कनमा उत्कृष्ट कार्य गरेको भन्दै प्रेस चौतारीको बाजुरा र कञ्चनपुर शाखालाई विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रेस चौतारीले सञ्चार क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै राजनीतिक दर्शनबिनाका शक्तिहरू जतिसुकै शक्तिशाली भए पनि तिनले देश निर्माण गर्न नसक्ने टिप्पणी गर्नुभयो। उहाँले ‘गुगल’को तथ्याङ्कमा मात्र नभई भूगोल र जन-मनोविज्ञान बुझेको नेतृत्वले मात्र विकासको रेखाङ्कन पूरा गर्न सक्ने धारणा राख्नुभयो।
कार्यक्रममा स्मारिका विमोचन गर्नुका साथै राष्ट्रिय सभा सदस्य लिला भण्डारी र नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले पत्रकारहरूले आफ्नो सुरक्षाको ख्याल गर्दै आचारसंहिताको पूर्ण पालना गरेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो।


