धनगढी,१६ माघ-धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज ४ खेल सम्पन्न भएका छन् । आज भएका चार खेलमा धनगढी मोडेल माध्यमिक विद्यालय, सुदुरपश्चिमाञ्चल एकेडेमी, सरस्वती माध्यमिक विद्यालय धनगढी र इलायन्स इन्टरनेश्नल स्कुल क्वाटर फाइनल प्रवेश गरेका छन् । धनगढी रगंशालामा भएको पहिलो खेल अन्तर्गत धनगढी मोडेल माध्यमिक विद्यालय धनगढीले नास्ट एकेडेमीलाई ३–१ गोल अन्तरले पराजित गरे सँगै नास्ट एकेडेमी खेलबाट बाहिरिएको छ, भने धनगढी मोडेल माध्यमिक विद्यालय क्वाटर फाइनल प्रवेश गरेको छ ।
आजै भएको दोस्रो खेल अन्तर्गत सुदुरपश्चिमाञ्चल एकेडेमी अत्तरिया स्थित होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल लाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ । होलिल्याण्ड इङ्लिस बोर्डिङ स्कुल आजको खेलमा पराजित भए सँगै खेलबाट बाहिरिएको छ । आजै सम्पन्न तेस्रो खेलमा धनगढी स्थित सरस्वती माध्यमिक विद्यालयले धनगढीकै ऐश्वर्या विद्या निकेतनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो सँगै सरस्वती माध्यमिक विद्यालय प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ, भने ऐश्वर्या बाहिरिएको छ । अन्तिम चौथो खेलमा एलायन्स इन्टरनेस्नल स्कुलले ‘सिसिएस प्लस टु’ ए लाई ५–० गोल अन्तरले पराजित गर्यो । यो सँगै एलायन्सपनि प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ ।
यस अघि ‘सिसिएस प्लस टु’ बी, वेस्टर्न त्रिस्टल एकेडेमी, त्रिनगर माध्यमिक विद्यालय र लोटस आई बोर्डिङ स्कुल क्वाटर फाइनल प्रवेश गरिसकेका छन् । क्वाटर फाइनल चरणका ४ खेल भोली हुने छन् ।
१६ विद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्ययनरत बिद्यार्थीहरुको सहभागिता छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोस्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने स्कुलका प्रिन्सिपल तीर्थ फुलाराले बताए । प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।