कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर परिसर र सुखडमा रहेको हेलिप्याड क्षेत्रमा सरसफाइ गरिएको छ । नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा सरसफाइ गरिएको हो । मन्दिर भित्र रहेको फोहोर सङ्कलन तथा सरसफाइ गर्नुको साथै मन्दिर वरपरको फोहोरलाई सङ्कलन गरी सरसफाइ गरेको थियो । त्यसका साथै हेलिप्याड क्षेत्रमा भएका झारहरू उखेल्ने, फोहोर टिप्ने काम समितिले गरेका छ ।
घुम्न आउने पर्यटकलाई ताल तथा मन्दिर क्षेत्रको राम्रो म्यासेज सन्देश भनेर आफूहरूले सरसफाइ सुरु गरेको नगर सभापति दीपेश बोहराले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सधैँ हातेमालो गरेर अगाडी बढ्ने उनले बताएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरमा सरसफाइ लाई निरन्तरता दिने बोहराले जानकारी दिए ।
नेपाल विद्यार्थी सङ्घ घोडाघोडी नगर कमिटीको आयोजनामा भएको सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल विद्यार्थी सङ्घमा आबद्ध युवाहरू, नेपाल तरुण दल, नेपाली काँग्रेस बाट निर्वाचित वडा अध्यक्षहरू र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी सङ्गठन हो ।