धनगढी,१६ फागुन-कैलालीको चुरे गाउँपालिकामा चौथो अध्यक्ष कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । फागुन २२ देखि २४ गते सम्म गाउँपालिकाको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताका तयारी तीव्र पारिएको छ । प्रतियोगितामा सहभागी हुनका लागी चुरे गाउँपालिका क्षेत्र भित्र रहेका वडा कार्यालय, विद्यालय तथा दर्ता भएका क्लबहरूले सम्बन्धित वडा कार्यालय सँग समन्वय गरी एक वडाबाट महिला÷पुरुषका बढीमा दुई÷दुई टिमको सहभागिता जनाउनका लागी सूचना जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद जोशीले बताए । प्रतियोगितामा सहभागीताका लागी २१ गते अपराह्न ४ बजे भित्र टिम दर्ता गरी सक्न समय तोकिएको छ ।
महिला र पुरुषका लागी छुट्टा–छुट्टै सञ्चालन हुने प्रतियोगिताका लागी सोही अनुसार पुरस्कारको पनि व्यवस्था गरिएको छ । पुरुष तर्फ प्रथम हुने टिमले ७७ हजार ७ सय ७७, द्वितीय हुने टिमले ५५ हजार ५ सय ५५ र तृतीय हुने टिमले ३३ हजार ३ सय ३३ नगद सहित ट्रफि र प्रमाणपत्र पाउने छ । यस्तै महिला प्रतियोगिता तर्फ प्रथमलाई ४४ हजार ४ सय ४४, द्वितीयलाई ३३ हजार ३ तीन सय ३३ र २२ हजार २ सय २२ नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले बताए । सुरुवाती चरणका २ प्रतियोगितामा महिला प्रतियोगिता तर्फ पुरस्कार राशि नरहेकोमा गाउँपालिका अध्यक्षको जिम्मेवारी बोगटीले पाए पछि निरन्तर रूपमा महिला प्रतियोगितामा पनि पुरस्कार दिँदै आएका छन् ।
प्रतियोगितामा सहभागी हुने टिमको खेलाडीहरूको विवरण सहितको आवेदन,प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीहरूको सम्बन्धित वडा अध्यक्षले चरे गाउँपालिका क्षेत्र भित्र स्थायी बसोबास गरेको प्रमाणित गरेको व्यक्तिगत विवरण फारम,प्रत्येक खेलाडीहरूको हकमा नेपाली नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा अन्यत्रबाट बसाई सरी आएको भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि,अन्य स्थानीय तहमा बसोबास रहेका तर हाल यस गाउँपालिका क्षेत्रका कार्यालय, विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूका हकमा सम्बन्धित कार्यालयको पत्र आवश्यक पर्ने गाउँपालिका कार्यालयले जनाएको छ ।