धनगढी-जातीय विभेद अन्त्यका लागी धार्मिक अगुवाहरू सँग छलफल गरीएको छ । बुधवार कैलालीको धनगढीमा दलित महिला सङ्घ (फेडो) को आयोजनामा जातीय तथा लैङ्गिक विभेद न्यूनीकरणमा धार्मिक अभियान्ताहरुको भूमिका विषयमा छलफल गरीएको हो ।
कार्यक्रममा प्रस्तुति राख्दै फेडोले पछिल्लो समय जातीय विभेदमा न्यूनीकरण आए पनि अन्त्य नहुँदा दिगो विकास लक्ष्य समेत प्राप्त गर्न नसकिएको जनाएको छ । फेडोको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा देशभर २० हजार ४ सय ६८ महिला हिंसामा परेकोमा २ हजार ५सय ३५ दलित समुदायका महिला छन् । कार्यक्रममा सहभागी धार्मिक अगुवाहरूले दलित भन्ने शब्द कुनै शास्त्र र धर्ममा नरहेको बताएका छन् । पछिल्लो समय क्रमिक रूपमा छुवाछुत अन्त्य भइरहेको बताउँदै उनीहरूले राज्यले प्रदान गर्ने दलित कोटा समेत नलिन आग्रह गरेका छन् ।
कानुनमा छुवाछुत अन्त्यको घोषणा भए पनि त्यसको कार्यान्वयन नहुँदा अझै पनि भेदभाव र छुवाछुत कायमै रहेकाले यसको व्यवहारिक अन्त्यका लागी धार्मिक अगुवाहरू सँग छलफल गरीएको दलित महिला (फेडो) फेडोका कार्यक्रम संयोजक विनोद घिमिरेले बताएका छन् ।
धार्मिक अगुवाहरू सँग छलफल कार्यक्रममा दलित महिला सङ्घ (फेडो) सुदूरपश्चिम प्रदेश अध्यक्ष अम्बिका ताम्राकारले धार्मिक अगुवाहरूलाई जातीय विभेद अन्त्यका लागी वकालत गरी दिन आग्रह गरेकी थिइन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका करिब १ दर्जन बढी धार्मिक अभियान्ताहरुको सहभागिता रहेको थियो ।