धनगढी,२२ असार – डोटीको पूर्वीचौकी गाउँपालिकामा कार्यरत इन्जिनियर रामबहादुर कार्कीले नेपाली काँग्रेसको सदस्यता लिएका छन् ।
गाउँपालिकाको प्राविधिक शाखा प्रमुख रहेका कार्कीलाई नेपाली काँग्रेस सुदूरपश्चिम सभापति वीर बहादुर बलायरले मनोनीत गरेका हुन् । बलायरको हस्ताक्षर रहेको पत्रमा नेपाली काँग्रेसको विधानको धारा १३, उपधारा १ बमोजिम टेकराज जोशी (डी के)प्रमुख रहेको भौतिक पूर्वाधार निर्माण तथा यातायात विभागको सदस्यमा कार्कीलाई मनोनीत गरिएको उल्लेख गरीएको छ ।
जनतालाई निष्पक्ष ढङ्गले सेवा प्रवाह गर्नुपर्ने कर्मचारीले खुल्लम खुल्ला राजनीति गर्न थालेको भन्दै कार्कीको चर्को आलोचना भइरहेको छ । विभागीय सदस्य मनोनीतका सम्बन्धमा पूर्वी चौकी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख कार्कीलाई सोध्दा उनले बोल्न चाहेनन् ।
गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्यायले यो विषयमा आफू जानकार नरहेको बताए । उपाध्याय पनि नेपाली काँग्रेस पार्टीबाटै निर्वाचित जनप्रतिनिधि हुन् । कर्मचारीले पार्टीको सदस्यता लिइएको भन्दै स्थानीयहरूले आलोचना गरिरहेका छन् । ‘उनीबाट निष्पक्ष सेवा प्रभाव हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने रु उनी पार्टीको कार्यकर्ता हुन की कर्मचारी’,एक स्थानीयले भने ।