धनगढी . सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले पहिलोपटक सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई बोलाएर छलफल गरेका छन् ।
मन्त्री भाटले मंगलबार मन्त्रालयमै धनगढीस्थित सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि चिकित्सकहरुलाई बोलाएर छलफल तथा अन्तरक्रिया गरेका हुन् । मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकले सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै पहिलोपटक सामूहिक छलफल तथा अन्तरक्रिया गरिएको बताएका छन् ।
यस अगाडि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए।
आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट पहल गरिने र सेवा चुस्त बनाउन चिकित्सकहरुलाई निर्देशन दिएका छन्।


