दार्चुला — भारतले नेपाली भूमि अतिक्रमण गरी बनाइरहेको तवाघाट–लिपुलेक सडकको गर्वाधार क्षेत्रमा पहिरोमा पुरिएर एक नेपालीसहित तीन मजदुरको मृत्यु भएको छ ।
आइतबार बिहान ९ बजे उक्त सडक खण्डमा चट्टानमा प्वाल पार्न ट्राला अटोमेटिक ड्रिलमेसिन लैजाने क्रममा माथिबाट एक्कासि पहिरो खस्दा तीन जना पुरिएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीका अनुसार पुरिएर दार्चुला घर भएका २१ वर्षीय तारा सिंह, उनीसँगै काम गर्ने मेसिन अप्रेटर र अर्का एक भारतीय मजदुरको मृत्यु भएको हो । पुरिएका तीनै जनाको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइ छ । भारतीय सीमा सडक संगठन (बीआरओ) को गर्ग एन्ड गर्ग कम्पनीले हाल नेपाली अतिक्रमित भूमि लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ । पहिरोले उक्त सडक खण्ड पनि अवरुद्ध भएको छ ।
हिमपहिरोमा यार्चा संकलक बेपत्ता
यार्चा संकलनमा गएका दार्चुलाको अपी हिमाल गाउँपालिका ४ नौपाटाका मोहनसिंह ठेकरे बेपत्ता भएका छन् । यार्चा संकलन गर्न अपीहिमाल गाउँपालिका–३ क्षतिको नाउरखाल लेकमा गएका ठेकरे हिम पहिरोमा परेर जेठ ५ गतेदेखि बेपत्ता भएको खण्डेश्वरी प्रहरी चौकीले जनाएको छ । चौकीका इन्चार्ज तेजराम महरका अनुसार बेपत्ता ठेकरेको छातामात्र भेटिएको छ ।