महाकाली लोकमार्गको खलङ्गा–गोकुलेश्वर सडक खण्डअन्तर्गत किम्तडी भीरमा अवरुद्ध रहेको सडक ६ दिनपछि शनिबारदेखि सुचारु भएको छ। चट्टान फुटाएर सडक चौडा बनाउने कामका क्रममा पहिरो खसेपछि पुस १५ गतेदेखि अवरुद्ध भएको सडक खुलाइएको हो।
प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार, पहिरो हटाएर आवागमन खुला गरिएको छ। पहिरोका कारण खलङ्गा र किम्तडीबीचका यात्रुहरूलाई सास्ती भोग्नुपरेको थियो।
निर्माण प्रतिनिधि सुरेन्द्र बमका अनुसार शनिबार सडक सुचारु गरेपछि आइतबारबाट बाँकी निर्माण कार्य अघि बढाइनेछ।
आजबाट सवारी पास भएका छन्। भोलिबाट कामलाई तीव्रता दिन्छौं, बमले भने।
पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले भीर चढेर पैदल यात्रा गर्नुपरेको थियो।
महेन्द्र नमूना मावि, खलङ्गाले शुक्रबार एक दिन विद्यालय बन्द गर्नुपरेको थियो।
मालवाहक गाडीहरू किम्तडी र खलङ्गामा रोकिएका थिए। लामो दूरीका बस र स्थानीय जिप सञ्चालन हुन सकेका थिएनन्।
शनिबार दिउँसोबाट सडक खुला भएसँगै खलङ्गा, महेन्द्रनगर, धनगढी, काठमाडौंलगायतका गन्तव्यतर्फका बस र अन्य सवारी साधन सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले सडक खुलेपछि यात्रुहरूलाई सहज भएको बताए।
सडक निर्माण कार्यलाई व्यवस्थित बनाउँदै अब लामो समयसम्म सडक अवरुद्ध नहुने निर्माण पक्षले दाबी गरेको छ।


