कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा दोस्रो घोडाघोडी पर्यटन तथा सांस्कृतिक महोत्सव २०८१ हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यही फागुन ९ गते देखि माघ १८ गते सम्म सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ ।
कृषि पर्यटन उद्योग र व्यापार,समृद्ध घोडाघोडीको आधार” भन्ने मूल नाराका साथ सुरु हुने महोत्सव १० दिन सम्म सुखडमा सञ्चालन हुने आयोजक संस्थाका उपाध्यक्ष हुकुम आचार्यले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन । महोत्सव सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए । कला संस्कृति र पर्यटनलाई उजागर गर्नका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनले जानकारी दिए ।
महोत्सवमा स्थानीय एवं राष्ट्रिय उत्पादन सेवाहरूको बृहत् व्यापार मेला, राष्ट्रिय कलाकारहरूको साङ्गीतिक एवं हास्य व्यङ्ग प्रस्तुति,विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने मूल आयोजक कमिटीका संयोजक नवीन क्षेत्रीले बताए । सांस्कृतिक झाकी प्रदर्शनी, आदिवासी समुदायको रहनसहन,संस्कृति र भेषभुषा प्रदर्शनी, बाल उद्यान र रमाइलो मेला महोत्सवमा रहने उनले बताए ।
महोत्सवमा यहाँका पर्यटकीय क्षेत्रका पोस्टर राखिनुका साथै थारु गाउँ, देउडा, थारु नाच लगायत विभिन्न संस्कृति झल्किने प्रस्तुति सङ्गै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारण लाई १ सय, विद्यार्थीका लागि ७० र अशक्तका लागि छुटको व्यवस्था गरिएको छ ।