डोटीः डोटीको शिखर नगरपालिका–१० बानेडुग्रीसैन स्थित पवित्र तीर्थस्थल गहनान त्रिवेणी धाममा श्रीमद् देवी भागवत महापुराण ज्ञान धन धन्याञ्चल लक्ष्य हवन महायज्ञ लाग्ने भएको छ।
यही चैत्र १७ गतेदेखी २५ गतेसम्म गहनानमा महायज्ञ लाग्ने भएको हो। डोटी र डडेल्धुराको संगमस्थल गहनान भूमिराज देवताको देवस्थलमा महायज्ञ लगाउन लागिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ललित बलायरले जानकारी दिए। समितिले पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको बारेमा जानकारी दिएको हो।डोटी र डडेल्धुराको सिमाना (सेती नदी र शाकल्य नदिको सङ्गम) स्थल शाकल्य ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको पवित्र ऐतिहासिक भूमि मानिन्छ। पौराणिक कालमा ५ पाण्डवहरूले ध्यान तपस्या गरेको पवित्र स्थल समेत गहनानलाई मान्ने गरिन्छ। सो क्षेत्रको समग्र विकासमा टेवा पु–याउन र हिन्दुधर्मालम्बीहरुको आस्थाको गन्तव्य स्थल बनाउन तथा तीर्थस्थलको महिमाको बारेमा प्रचारप्रसार गर्न महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।महायज्ञ समितिका संयोजक बलायरका अनुसार महायज्ञको उद्घाटन पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले गर्ने छन् भने महायज्ञको प्रमुख वाचक आध्यात्मिक प्रमुख वाचक पण्डित श्री ऋषिकेश उपाध्याय रहने छन। महायज्ञमा तुला दान, अन्न दान, गौदान, आरती सेवा, विशेष पूजा, ब्राह्मण पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, व्रतबन्ध लगायत कार्यक्रमहरू हुने उनले बताए।