काठमाडौँ-प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह पाँच बजे स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह पाँच बजे अध्यक्ष ओलीले स्थायी समिति बैठक बोलाएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
‘बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न अध्यक्षज्यूले पाँच बजे बालुवाटारमा स्थायी समिति बैठक बोलाउनु भएको छ,’ तामाङले इकागजसँग भने, ‘सबै स्थायी समिति सदस्यहरूलाई जानकारी गराइएको छ ।’
बैठकमा पार्टीले उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत १२ जनालाई सोधिएको स्पष्टीकरणबारे पनि छलफल हुने उनले जानकारी दिए । तर, तत्काल कारबाही नहुने उनको भनाइ छ ।
‘अहिले नै कारबाही गरिहाल्ने अवस्था छैन । छलफल हुन्छ । लिखित स्पष्टीकरण त आएको छैन । तर, नेताहरूको नेतृत्वसँग सम्पर्क हुन थालेको जानकारी आएको छ,’ तामाङले भने ।