काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आज बिहान ११:३० बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो। बैठकमा समसामयिक राजनीति, पार्टी स्थापना दिवस भव्य बनाउने विषयमा छलफल केन्द्रित हुनेछ ।
एमालेले ९ गते पार्टीको ७६ स्थापना दिवस र ११ गते युवा महोत्सवको आयोजना गरी मनाउँदैछ।वैशाख ११ गते अर्थात लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै एमालेले ४० वर्ष मुनिका युवाहरू सहभागी गराएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउने तयारी गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउनका लागि जुट्न पार्टीका सबै जनसङ्गठनलाई निर्देशन दिएका छन्। उनले भनेका छन्, ‘एमालेको साथमा युवा छैनन्। एमालेका युवाहरु सिध्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका हौं, म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरुलाई भेला पार्न सक्दैन।’
राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको भन्दै नेकपा (एमाले)ले युवा केन्द्रित अभियान सुरु गरेको हो।