धनगढी– कैलालीको धनगढीमा २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ मनाइएको छ । शुक्रबार ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग अन्तरक्रिया’ नामक कार्यक्रमको आयोजना गर्दै चलचित्र पत्रकार संघ नेपाल, कैलालीले दिवस मनाएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका ९ वटै जिल्लाको संस्कृति बचाउन राज्य गम्भीर हुनुपर्ने बताइन् । उनले कलाकार र संस्कृति क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता नै अहिलेको सबैभन्दा विश्वासिलो क्षेत्र भएको उल्लेख गरिन् । साथै, पत्रकारहरूलाई हुने दवाब, अपमान र हिंसाप्रति चिन्ता व्यक्त गर्दै उनले निष्पक्ष पत्रकारिताको आवश्यकता औँल्याइन् ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका विशिष्ट अतिथि टी.एन. जोशीले प्रतिष्ठानको बजेट सिलिङ घटाइएको जानकारी दिए । उनले आफुहरु चलचित्र महोत्सव आयोजना गर्ने तयारीमा रहेको समेत बताए । यस्तै विशिष्ट अतिथि रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बाल नरसिंह राणाले कैलालीमा थुप्रै रमणीय पर्यटकीय ठाउँहरू रहेको र चलचित्रका लागि उपयुक्त ठाउँ रहेको बताए । कलाकारहरूलाई छायाङ्कन गर्दा सहज वातावरण बनाउन प्रहरीले सहयोग गर्ने उनको भनाई छ ।
यस्तै चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता रहेको बताए । कलाकारहरूको संगठन विना चलचित्र पत्रकार संघको अर्थ नरहने उल्लेख गर्दै उनले अन्य प्रदेशमा गठन भएको चलचित्र बोर्ड सुदूरपश्चिममा पनि गठन गर्न सुझाव दिए ।
कार्यक्रममा पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार महासङ्घ बझाङका अध्यक्ष ललित सिंह, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतको उपस्थिति थियो । त्यसैगरी, बरिष्ठ चलचित्रकर्मी उदय बोहरा, कलाकार सरस्वती खड्का, बोक्टानी किङ, सुरेन्द्र संगम लगायत थुप्रै चर्चित कलाकारहरू पनि कार्यक्रममा सहभागी थिए ।
कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघका सचिव कृत बहादुर विष्टले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक नागरीले राखेका थिए । कार्यक्रमको प्रवद्र्धक प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी रहेको थियो भने सहकार्य सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँग रहेको थियो ।