राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा मतदान प्रारम्भ भएको छ। उपनिर्वाचनको आजै नतिजा आउने भएको छ।
नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा (एमाले)मा प्रवेश गरेपछि कारबाहीमा परेका थिए। उनको सांसद पद रिक्त भएपछि उपनिर्वाचन गरिएको हो।
आज बिहान ९ बजेबाट प्रारम्भ भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे र नेकपा (एमाले)का खड्का उम्मेदवार रहेका छन्। कांग्रेस उम्मेदवारलाई माओवादी, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ। त्यस्तै, खड्कालाई जसपाको महन्थ ठाकुर समूहले समर्थन गरेको छ।
उपनिर्वाचनमा ३०० मतदाता रहेका छन्। जसमा प्रदेश सभा सदस्य ८३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार बिहान १० बजेसम्म ९३ मत खसेका छन्। मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
मतदान सकिएको लगत्तै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ। मत परिणाम पनि आजै आउने भएको छ।