धनगढी- भारतबाट अबैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामानहरू सहित कैलाली र कञ्चनपुर जिल्लाबाट पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। केही स्थानबाट भने भन्सार छलि गरिएका सामानहरू वेवारिसे अवस्थामा बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरी ल्याइएको अनुमानित ८० हजार ८५० बराबरको चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ती सेट, कट्टु, टप्स लगायतका सामान सहित सोही ठाउँकी २७ वर्षीया दिपिका चौधरी र ३४ वर्षीया हस्मिता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकबाट अवैध रूपमा भन्सार छलिएको एक लाख ४० हजार ७५० बराबरको चिनी, दाल, कुर्ता सुरुवाल, कट्टु, वानपिस, प्लाष्टिक झिल्ली लगायतका सामान सहित गोदावरी नगरपालिका–१ की ५८ वर्षीया पार्वती पन्त र ४० वर्षीया ईश्वरी बुढालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सोमबार नै दिउँसो १२ बजे तिर टीकापुर नगरपालिका–७ स्थित भ्युटावर नजिकबाट भन्सार छलि गरिएका ३७ हजार ६८५ बराबरको आयुर्वेदिक तथा भिटामिन औषधी प्रहरी चौकी कालाकुण्डाको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
कञ्चनपुरमा पनि भन्सार छलिका सामान बरामद
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासी, दोधारा चाँदनी नगरपालिका–१ को फोर लाइन सडक किनारा, सोही ठाउँको ३ पट्टरखल्ला, र लालझाडी गाउँपालिका–१ नौरंगा सिद्दबाबा सामुदायिक वन नजिकबाट प्रहरीले तीन लाख ८८ हजार ७१० बराबरको चिनी, खाने तेल, सुटपिस, कुर्ती, पाइन्ट, लेहँगा, इनभर्टर, बोइलर कुखुरा लगायतका सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको गस्ती टोलीले ती सामानहरू बरामद गरेको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखेको जनाएको छ भने बरामद गरिएका सामानहरू आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको जनाएको छ।


