धनगढी– भारतबाट फर्केका सुदूरपश्चिमको कैलाली र अछामका पाँच जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ।
गौरीफन्टा नाका हुँदै नेपाल फर्केका ३० जनाको ‘एन्टिजेन’ परीक्षण गर्दा पाँच जनामा ‘पोजेटिभ’ देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टि हुनेमा तीन जना कैलाली र दुई जना अछामका रहेका छन् । कोरोना सङ्क्रमित उनीहरुलाई ‘होम क्वारेण्टीन’ मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै गौरीफन्टा नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो हप्ता भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको छ । अहिले भारतमा कोरोनाको संक्रमण बढ्न थालेको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोरानाको परीक्षण गर्दै आएको छ ।