हालै सम्पन्न आन्दोलनपछिको पुनःनिर्माण तथा सरसफाइ अभियान अन्तर्गत धनगढीस्थित शहरी विकास तथा भवन निर्माण कार्यालयमा आज ५० जना युवाहरुको सक्रिय सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
स्थानीय ‘जेन्सी समूह’का युवाहरुको अगुवाइमा भएको कार्यक्रममा स्वस्फूर्तरूपमा सहभागी भएका युवाहरुले कार्यालय परिसर सफा गर्दै सामाजिक जिम्मेवारीमा आफूलाई समर्पित गरेका छन्। कार्यक्रममा कार्यालयका कर्मचारीहरुले समेत साथ दिँदै युवाहरुको यो पहलप्रति सकारात्मक सहयोग व्यक्त गरे।
यसअघि पनि सो समूहले धनगढीका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरुमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। समूहका युवा प्रतिनिधि कृतिनिधि बिष्टका अनुसार, “यो अभियान सफाइमा सीमित छैन, हामी चाहन्छौं नागरिक चेतना र जिम्मेवारीको भावना विस्तार होस्।”
सरसफाइ अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको समूहले जनाएको छ। स्थानीय तह र सरोकारवाला निकायहरुको साथ र सहयोगले यो अभियान अझ प्रभावकारी हुने युवाहरुको विश्वास छ।


