धनगढीमा गरीएको कोरोना परीक्षणमा थप ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ५७ नमुना परीक्षण गर्दा ५१ जनाको रिपोट पोजेटिभ र ६सय ६ जनाको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार सङ्क्रमितहरूमा धनगढीका मात्रै ५पुरुष र १ महिला गरी ६ जना छन । कैलालीका अन्य स्थानका २८ पुरुष र १४ महिला गरी ४२ जना छन् । कैलालीबाहिरका १ पुरुष र २ महिला गरी ३ जना छन् ।
गत २४ घण्टामा १० जना अस्पतालबाट सङ्क्रमण मुक्त भएर घर फर्किएका छन भने २ जना नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । गत २४ घण्टामा २ सङ्क्रमितले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेहरूमा घोडाघोडी नगरपालिका १ का ५७ वर्षीय पुरुष र गोदावरी नगरपालिका ९ का ५० वर्षीय पुरुष रहेका छन् । अहिले अस्पतालमा ४८ सङ्क्रमित उपचाररत छन् ।