सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने एमालेको केपी शर्मा ओली पक्षीय सात प्रदेशसभा सदस्य दलको बैठकका लागि मात्र निलम्बनमा परेको जनाइएको छ।
एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गाकुमारी विकले सातजना प्रदेश सदस्यलाई केही दिन दलको बैठकमा सहभागी हुन नपाउने गरि निलम्बन गरिएको बताइन्। उनले भनिन, ‘उहाँहरुलाई दलको बैठकमा आउन नपाउने गरेर मात्र निलम्बन गरिएको हो।’
एमाले संसदीय दलको सोमबार बेलुका दलका नेता प्रकाशबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले सातजना सदस्यहरुको भूमिका हेरेर सातदेखि १५ दिनसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
निलम्बनमा पर्नेहरुमा पूर्वमन्त्री पठानसिंह बोहरा, रतन थापा, लिलाधर भट्ट, बलदेव रेग्मी, नेपालु चौधरी, ग्याल्बुसिंह बोहरा र माया तामाङ बोहरा रहेका रहेका छन्।
बोहरा र थापालाई १५ दिन, भट्ट र रेग्मीलाई १० दिन र अरुलाई सात दिनका लागि दलको बैठकमा आउन नदिने गरेर निलम्बन गरिएको छ।
प्रमुख सचेतक विकका अनुसार बजेटमा सातजनाको भूमिकालाई पनि ध्यान दिइने छ। उनीहरु सातैजनाले दलका तर्फबाट बोल्न पाउने छैनन्। मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत हुँदैछ।