कोरोना महामारीले जारी बन्दाबन्दी को लामो समय भइसक्दा पनि शैक्षिक संस्थाहरू सञ्चालनमा नआउँदा बिद्यार्थीहरुको भविष्य अन्योलमा रहेको छ।
विद्यालय सञ्चालनमा आए विद्यालयको पढाइलाई सुरक्षित र गुणस्तरीय बनाउने तयारीमा रहेको श्री जनप्रिय माद्यामिक विद्यालय गौरीगङ्गा ८, लिक्मा, कैलालीका प्रधानाध्यापक धनीदत्त भट्टले बताए।
कोरोना महामारीले शिक्षा क्षेत्रमा निकै ठुलो असर पारेका बेला हाम्रो विद्यालयमा वैकल्पिक माध्यम बाट पठनपाठन कार्यलाई अगाडि बढाउने तयारी गरिरहेका छौँ,प्रधानाध्यापक भट्टले भने,
वर्तमान स्थिति सुधार भएर विद्यालय निरन्तर सञ्चालनमा आएर प्रत्यक्ष पढाई सञ्चालन भएमा प्रत्येक विद्यार्थीलाई निःशुल्क र गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउने उनको भनाइ छ ।
२०७७ साल बाट नै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई सुरु भएको छ। निजी स्कुलहरू छोडेर जनप्रिय माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको लर्को लाग्ने गरेको छ । अङ्ग्रेजी माध्यममा पढाई हुँदा आर्थिक अभाव वा अज्ञानताका कारण यस समाजमा छोरालाई बोडिङ् स्कुल र छोरीलाई सरकारी स्कुलमा पढाउने विद्यमान प्रवृत्तिको समेत अन्त्य हुने उनले बताए ।
यति मात्रै नभएर आर्थिक अभावको कारण छोराछोरी बोर्डिङमा पढाउन नसकेर हीनताबोध गर्ने अभिभावकहरू आफैले विद्यार्थीलाई जनप्रियमा पठाउन रुचाउने गरेका छन् ।
विद्यालय स्तरमा गुणस्तरीय शिक्षाको अभावमा विद्यार्थीहरू सहरमा कोठा लिएर अध्ययन गर्न जान नपर्ने विद्यालयले विश्वास लिएको छ।
सबै कुराले सम्पन्न भएका विद्यार्थीले विदेश पलाएन हुने हो भने हामी सुदूरपश्चिमलाई सम्पन्न सुदूरपश्चिम बनाउने कुरा सपनामै सीमित हुने विद्यालयका प्रधानाध्यापक धनीदत्त भट्टले बताए ।
बिगतको तुलनामा भन्दा छोटो समयमै यस विद्यालयले निकै संरचना निर्माण गरेको छ। विद्यालयको दुई ओटै ब्लकमा पक्की पर्खाल निर्माण, पक्की भवन, स्यानेटरी प्याड डिस्पोजल सुविधा भएको छात्रा शौचालय, खानेपानीको धारा निर्माण, सुबिधासम्पन्न विज्ञान प्रयोगशाला, भव्य कम्प्युटर प्रयोगशाला स्थापना भएका छन। विद्यालयले भर्खरै ३० ओटा क्यामरा जडान गरी विद्यालय सुरक्षा प्रणाली मजबुत बनाएको छ भने विद्यालयको वेबसाइटको विकास गरी सूचना संयन्त्रलाई प्रभावकारी बनाएको छ। गौरीगङ्गा नगरपालिकाको सबै भन्दा ठुलो रहेको उक्त विद्यालयले अभिभावकको समेत मन जित्न सफल भएको छ।
कोरोना कहरले धरापमा रहेको शिक्षा क्षेत्रमा अहिले भने विद्यालयमा विद्यार्थी भर्ना गरिरहेका छन। बन्द भएका शैक्षिक संस्था खुल्न थालेपछि विद्यार्थी तथा अभिभावक समेत खुसी भएका छन।