सुदूरपश्चिम प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयमा हुने दर्ता र नवीकरणमा जरिमाना छुट गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था कार्यालय कैलाली,कञ्चनपुर,सेवा कार्यालय डोटी र डडेल्धुरामा हुने दर्ता र नवीकरणमा छुट दिने सरकारले निर्णय भएको हो।
निषेधाज्ञाकै समयमा कर बुझाउने अवधि पुगेका सवारी धनीहरूलाई सवारी साधन पूर्णरुपमा खुलेको १५ दिनभित्र कर बुझाउँदा जरिमाना छुट गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्रालयमा शाखा अधिकृत खगेन्द्र साउँदले बताए ।
निर्णय कार्यान्वयनका लागि हामीले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएका छौँ,उनले भने,‘यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयलाई पनि जानकारी गराइसकेका छौँ, यातायात खुलेको १५ दिन सम्म कर तिर्दा कुनै जरिवाना लाग्दैन।’
तिरिसकेकाको हकमा अन्योल
यातायात व्यवस्था कार्यालय कैलालीले भने मन्त्रालयबाट पत्र प्राप्त नभएको जनाएको छ । ‘हामीले पत्र पाएका छैनौँ,कार्यालय प्रमुख लक्ष्मण शाहले भने,‘ निषेधाज्ञा अवधिको जरिमाना छुट गर्ने निर्णय भइसकेको जानकारी पाए सँगै हामीले सोमवारबाट निर्णय कार्यान्वयनमा ल्याइसकेका छौँ।सोमबार देखी तोकिएको मिति सम्म कर तिर्दा सेवाग्राहीलाई जरिवाना लाग्दैन।’
तर आइतबारसम्म यातायात व्यवस्था कार्यालयहरूले सवारी दर्ता, चालक अनुमती पत्र नवीकरण, जाँच पास लगायत यातायात व्यवस्था कार्यालयबाट हुने दर्ता र नवीकरणमा दोब्बर जरिमाना असुल्दै आएका थिए।
हाल सम्म जरीवाना तिरिसकेको हकमा भने केही भन्न नसकिने यातायात व्यवस्था कार्यालय कैलालीले जनाएको छ ।
प्रदेश सरकारबाट जरिवाना छुट गर्ने निर्णय नभइसकेको अवस्थामा पनि हामीले सेवाग्राहीबाट जरिवाना सहित कर शुल्क लिएका थियौँ,कार्यालय प्रमुख शाहले भने,‘अहिले प्रदेश सरकारबाट निर्णय आएको छ,जरिवाना तिरेकाको हकमा के गर्ने भन्ने अन्योल छ।’