कञ्चनपुर – मनसुनजन्य विपद्को पूर्वतयारीका लागि कञ्चनपुरका वर्षा मापन अवलोकनकर्ता र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना वर्षा मापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको हो। रेडक्रसका जिल्ला सभापति टेकराज उप्रेती र महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख गोविन्द झाले संयुक्तरूपमा व्यक्तिगत सुरक्षा सामग्रीका रूपमा हाते टर्च, गमबुट, हेड टर्च, छाता वितरण गरेका हुन्।
व्यक्तिगत सुरक्षा सामग्रीसँगै वर्षा मापन र जल सतह मापनकर्तालाई एक हजारको रिचार्ज कार्डसमेत उपलब्ध गराइएको छ। मनसुनजन्य विपद्का बेला नदीको बहावको अवस्था र वर्षाबारे जिल्ला आपत्कालीन केन्द्रमा सूचना प्रवाह गर्नका लागि सहज होस् भनेर रिचार्ज कार्ड उपलब्ध गराइएको परियोजनाका संयोजक महेश घिमिरेले बताए।
उनका अनुसार सम्भावित जोखिमबाट जोगाउनका लागि वर्षा मापन र जल सतह मापनकर्ताका लागि बीमासमेत गरिएको छ। एशियन लाइफ इन्स्योरेन्ससँगको साझेदारीमा परियोजनाअन्तर्गत ३४ जनाको तीन लाखको दुर्घटना बीमा गरिएको छ। पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र ९डिओसी०को समन्वयमा बाढी पूर्वतयारीका लागि नदी तथा वर्षा मापनकर्ताको फोन नम्बर ९मोबाइल नम्बर० पुनरावलोकन गर्ने कार्यसमेत सम्पन्न गरिएको छ।
मछेली नदीको उद्गमस्थान गोदावरी कोल्मोडा सत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने कार्यलाई समेत अगाडि बढाइएको छ। मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुरूप काम भइरहेको परियोजनाका संयोजक घिमिरेले बताए।
जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार कञ्चनपुरमा मनसुनजन्य विपद्बाट ११ हजार ८२५ घरघुरीका ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ।
रासस