बैतडीका अर्जुन कुँवर छोरी र श्रीमतीका साथमा त्रिनगर नाकामा लाइन लागेका थिए। पिठ्युँमा झोला बोकेका कुँवर स्वदेशमा रोजगारीका अवसर नपाएपछि श्रीमती सहित भारत गइरहेका थिए।
दिउँसो टन्टलापुर घाममा उनको परिवार लाइनमा थियो। ‘यहाँ बसेर के गर्ने परिवारको छाक टार्नै मुस्किल भएपछि,’उनले भने,‘गत वर्ष भारतबाटै फर्किएको थिए,अव स्वदेशमै केही गर्ने भनेर एक वर्ष घरै बसे,कार्यालयमा जागिर पाउन पढाई छैन,अरू काम केही पाइन,६ महिना बिजुलीका पोल बोके, तर दिनको ३ सय ज्यालाले परिवारको छाक टार्न सकिन।’
उखरमाउलो गर्मीले होला सायद, छोरी रुँदै थिइन्। उनकी आमा पार्वती छोरीलाई काखमा समाउँदै फकाइरहेकी थिइन्। छोरी भुलाउँदै गरेकी उनले भनिन्,‘म त पहिलो पटक बुढासँग भारत जादैँछु, घरमा म एक्लै, गाउँकै साहुको तीन लाख ऋण छ, म यहाँ के गरेर बस्नु, दुवै मिलेर ऋण तिरौला भनेर म पनि जादैँछु, खाना पकाउने, भाडा धुने काम त म पनि गर्न सक्छु,कमाइ कसो नहोला र!’
त्रिनगर नाका हुँदै कोही पहिलो पटक कमाउन भारत जाँदै थिए भने कोही कर्मभूमि भारतलाई नै बनाएकाहरू थिए। व्यथा फरक भए पनि सबैको एउटै गुनासो थियो, स्वदेशमा रोजगारीका अवसर नै पाइदैन्।
नपढेका र थोरै पढेका मात्रै हैनन्, ११/१२ कक्षा देखी मास्टर्स गरेकाहरू पनि रोजगारीका लागी भारत पस्न बाध्य छन्।
कैलाली लम्कीका प्रभात शर्मा भरखर व्याचलर पढ्दै छन्। उनले दोस्रो वर्षको परीक्षा दिएका छन्। ‘परीक्षा सकियो, अव कमाउन भनेर भारत जाँदै छु,’उनले भने,‘घरपरिवारको छाक र आफ्नो पढाइ खर्च आफैले व्यहोर्नुपर्छ घरमा कमाउने मान्छे अरू छैनन्,यहाँ जागिरको खोजीमा धेरै भौतारीए, तर केही काम पाइन। त्यसैले बाध्य भएर भारत जाँदै छु,पहिला पढाइ सकूँ अनि कमाउला भन्ने छैन,कमाउँदै पढ्नु पर्ने बाध्यता छ।’
अछाम मङ्गलसेनका पुष्कर धामी पनि परिवार सहित भारत जाँदै थिए। ‘नेपालमा काम नै नपाइने त होइन ८/१० हजार तलब हुने काम त भेटिन्छ,तर त्यसले हामीलाई पुग्दैन,’उनले भने,‘भारतमा हामीले १० हजारको मात्रै काम भेट्यौ भने पनि यहाँ १६ हजार हुन्छ,ओभर टाइम काम गर्न सके महिनामा नेपाली ३०/४० हजार कमाउन सकिन्छ,त्यसैले कामका लागी भारत जाँदै छु।’
सरकारले कोरोना प्रभावितका लागी दर्जनौँ कार्यक्रम ल्याए भनेर झुट बोलेको मुगलान छिर्नेहरूको गुनासो छ। सरकारले आफ्ना नातेदार र आसेपासे बाहेक अरूलाई नहेरेको उनीहरू बताउँछन्।
‘रोग भन्दा भोक ठूलो’
भारतमा कोरोना सङ्क्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागि मुगलान जानेहरूको भीड घटेको छैन। सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टामा रोजगारीका लागि भारत जाने नेपालीको लामो लाइन छ। दैनिक हजारौँको सङ्ख्यामा भारत गइरहेका नेपालीलाई रोगको भन्दा भोकको चिन्ता बढी छ।
‘भारतमा कोरोना बढेपछि गत चैतमा घर फर्केको थिएँ। चार महिना घरमै बिताएँ। आम्दानीभन्दा पनि कमाएको पैसा सबै सकियो। अरू विकल्पै भएन। अन्तमा भारत नै हाम्रो गन्तव्य हो,’ अधबैँसे उमेरका घोडाघोडीका कमल शाहीले व्यथा सुनाए। ‘१५ वर्ष भारतमै बिताइसके बुढेसकालमा घरमै बस्ने रहर थियो तर बाध्यताले फेरी मुगलान जानु प¥यो’,उनले भने।
कोरोना सङ्क्रमणको पहिलो चरणमा स्वदेश फर्केका नेपाली अहिले फेरि रोजगारी खोज्दै भारत पसिरहेका छन्। त्यो बेला लाइन लागेर भारतीय नाकाबाट स्वदेश फर्केका नेपाली अहिले लाइन लागेरै भारत पसिरहेका छन्। उनीहरूलाई कोरोनाको डरभन्दा बढी भोकै मर्ने डरले पिरोलिरहेको छ।
पछिल्लो ५ दिनको अवधिमा कैलालीसँग जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै १२ हजारभन्दा बढी नागरिक रोजगारीका लागि भारत पसेका छन् ।
‘हामी कहाँ जाने त? कसले दिन्छ यहाँ रोजगारी? सरकारले हामी रोजगारी दिन्छौँ भनेर एक वर्ष भुलायो खै हामीले रोजगारी पाएको? नाकामा आक्रोशमा देखिएका डोटीका पदम नेपालीले भने,‘भारतबाट कमाएर ल्याएको पैसा सकिएपछि फेरि भारततिर जानुको विकल्प भएन हामीसँग।’
२५ वर्षदेखि भारतमै रोजगारी गरिरहेका कञ्चनपुरका इन्द्र बहादुर थापा पनि भारत जानकै लागि गौरीफन्टा नाका थिए। ‘मेरो रोजगारीको मुख्य आधार नै भारत हो,’उनले भने,‘४/५ वर्ष भारतमै बसेर कमाउने गरी जाँदै छु। भारतबाट स्वदेश फर्केकाहरूलाई रोजगारी दिने सरकारले उद्घोष गरेको थियो। तर, त्यसको कार्यान्वयन अहिले सम्म भएन,त्यसैले हामी भारत जान बाध्य छौँ’,उनले भने।