कैलालीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षबाहेकलाई निषेध गरिएको भन्दै कैलाली–१ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा छन् । कैलाली क्षेत्र नम्बर–१ को कैलाली नगरपालिका–१ मा ५८२ क्रियाशील सदस्य थप्न आफूलाई जानकारी नदिइएको उनको आरोप छ ।
“कैलालीमा सभापति शेरबहादुर देउवा पक्षबाहेकलाई राजनीतिमै निषेध गर्ने प्रयास भएको छ,” क्षेत्रीय सभापति अधिकारीले भने, “विभिन्न आरोपमा कारबाही गरेर पार्टीबाटै निकाल्नेदेखि पार्टी कब्जा गरेर अरूलाई निषेध गर्ने प्रयास भइरहेको छ ।” उनले आफू क्षेत्रीय सभापति भए पनि त्यही क्षेत्रमा केन्द्रबाट फर्जी निर्णयमा सदस्य थपिएको बताए ।
प्रधानमन्त्रीपत्नी आरजु राणा देउवा चुनाव लडेको जिल्ला कैलालीमा देउवा पक्षलाई असहयोग गरेका नेता–कार्यकर्तालाई एकसाथ कारबाही गरिएको थियो । पार्टीका पूर्वसहमहामन्त्री तथा पटक–पटक मन्त्री भएका तनहुँका गोविन्दराज जोसीलाई कारबाही गर्दा कैलालीका पूर्वसांसद तथा पूर्वमन्त्री पुष्करनाथ ओझा पनि कारबाहीमा परेका थिए । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ भने उनीसँगै धेरै नेता–कार्यकर्ता कारबाहीमा परेका थिए ।
क्षेत्रीय सभापति अधिकारीले बाहना भए कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने, बाहना नभए महाधिवेशनमा कब्जा गर्ने रणनीतिका कारण आफू धर्ना बसेको बताए ।
“एउटा वडामा प्रक्रियाबाहिरबाट ५८२ जना थपेर पार्टी कब्जा गर्न खोजिएको छ,” अधिकारीले प्रश्न गरे, “के सभापति देउवाको गुटमा आबद्ध नहुनेले कांग्रेसमा बस्न नपाउने हो रु कांग्रेस मात्र भएर राजनीति गर्ने छुट नपाइने हो रु”
उनले कैलालीबाट आफूसहित २५ नेता–कार्यकता धर्नामा रहेको जानकारी दिए । अधिकारी भने हरेक दिनजसो अरूभन्दा अगाडि सानेपामा पुगेर धर्नामा बस्छन् ।