मुटु रोगी ३३ बर्सिया धर्मा कुमारी बटालालाई थप समस्या हुन थालेपछि रुकुम पश्चिमको आठबिसकोटा नगरपालिका वडा नम्बर ९ सुन्दरपानीबाट दुधे बालक सहित भदौ ३ गते बुधवार नजिकैको राडी बजारको नगर अस्पतालमा पुगिन । त्यो दिन अस्पतालमै भर्ना भएकी धर्मालाई भोलिपल्ट डाक्टरले मुटुमा गम्भीर समस्या भएकाले नेपालगन्ज जानु पर्ने भन्दै रेफर गरे । श्रीमान् सँगको कुराकानी पछि उनी नेपालगन्ज जाने तयारीमा लागिन । अस्पतालबाट हिँडेरै बसपार्क पुगेकी उनीलाई बिदाइ गर्न बजारका महिलाहरू समेत सँग सँगै आए । बस काउन्टरका कर्मचारीले धर्मा बसपार्क नपुग्दै बसको टिकट तयार पारिसकेका थिए । सँगै आएका अन्य महिलाहरूले आत्मबल बलियो बनाउन र पैसाको अभाव भए फोन गर्न आग्रह गर्दै बसमा चढाए । “चाडै सन्चो भएर फर्किनु है बहिनी ?” सँगैकी एक महिलाले भनिन् । “अब त फर्किन्न होला दिदी, श्रीमानलाई भेट्न पाए आत्माले शान्ति पाउँथ्यो ।” धर्माले जवाफ फर्काइन । “नहुने–नहुने कुरा नबोल बहिनी, हामी छौ नि । किन हरेस खान्छौ ।” महिलाहरूले धर्माको आत्मबल बढाउँदै बिदाइ गरे ।
करिब साढे ५ बजे ना ३ ख ३५७९ नम्बरको बसका मालिक समेत रहेका बस चालक तुलाधर आचार्यले प्वाप्वा…. पुपु…. हर्न बजाउँदै रुकुमको राडी बजारबाट धर्माको यात्रालाई अघि बढाए । “ल म हिँडे है ।” श्रीमानलाई फोन गरेर धर्माले भनिन् । “हुन्छ राम्रो सँग आउँ है । अनि छोराले सताउला ख्याल गर्नु ।” श्रीमानले जवाफ फर्काए । बस केही दुरीमा पुगेपछि धर्मालाई रिँगटा लाग्न थाल्यो । बसका सहचालक तथा अन्य यात्रुहरूले उनीलाई झ्याल पट्टीको सिट मिलाई दिए । बसको सिटमा असहज बसाई, ३२ महिने छोराको दूध सँगको लडाई, मुटुको दुखाई, शिथिल र थलिएको शरीर, भारी भएर घुमिरहेको टाउको सँगै कच्ची सडकमा बसको झक्झकावटले धर्मालाई झनै एकोहोरो बनाउँथ्यो । अनि बेलाबेला टोलाउँथिन अनि मुर्छा पर्थिन । तर पनि रोगलाई जितेर अझै धेरै बाच्ने उनको इच्छा थियो । “यतै गाउँमा राम्रो अस्पताल भए त बाचिन्थ्यो की ! सामान्य समस्याका लागि पनि सास्ती खोप्नु पर्छ ।” बसका यात्रु सँग मधुरो स्वरमा बोल्दै धर्माले भनिन्,…“यसरी त नेपालगन्ज पुगिन्न की क्या हो ?”
“के गर्नु बहिनी हाम्रा नेताका परिवारका सदस्यहरूले हाम्रो जस्तो समस्या भोग्नु पर्दैन ।” बसका चालक आचार्य बोले,.. “नेताको बुद्धि पलाए जनताले सेवा सुविधा पाउने हुन । नेतालाई भोटबाहेक अरू केही मतलबै छैन ।” धर्माको कति–कति बेलाको मुर्छा पराई, उल्टी गराई, दुधे बालकको रुवाई र मुटु दुखाइले बसका बजिरहेका कर्ण प्रिय गीतहरू पनि उनका लागी निकै फिक्का र दिक्क लाग्दा थिए । तर अन्य यात्रुहरू भने कुनै गफमा मक्ख थिए त कुनै मस्त निन्द्रामा । केही समयको यात्रा पछि बस जाजरकोट र सुर्खेतको सीमा बजार छेडा गाड बजारमा पुग्यो ।
“ल सबैजाना उठ्नुस् है, खाना खाने ठाउँ आयो ।” बसका सहचालक चर्को आवाजमा बोले । सबै जना आ–आफ्नो सिटबाट उठेर बाहिर जान थाले । “बहिनी खाना खानुस्, आउनुस् ।” गाडी चालक बोले । “नाइँ दाइ खान मन छैन बरु चाडै नेपालगन्ज पु¥याईदिनु ।” काखको दुधे बालक तिर ईसरा गर्दै उनले भनिन्,.. “यसको बाबाको मुख हेरेर मर्न पाए ।” चालक सँगको कुरा नसकिँदै मोवाईलको घण्टी बज्यो ।…… “कहाँ पुग्यौ, छोराले सतायो की ?” श्रीमानको आवाज आयो । श्रीमानलाई आफू ठिकै रहेको आश्वस्त पार्न मन दरो पर्दै केही चर्को स्वरमा धर्मा बोलिन । “छेडा पुग्यौ अरे, खाना खान बस रोकेको छ ।” “तिमिले खाना खायौ त ?” श्रीमानको प्रश्न नसकिँदै धर्मा बोलिहालिन,.. “खान मन छैन ।” फोनबाटै श्रीमानले कर गरेपछि उनी बसबाट झरिन र होटेल पुगिन । सबैले लगभग खाना खाई सकेका थिए । धर्माले हाफ खाना अर्डर गरिन । दुई गाँस खाएर उनी उठिन र बसको सिटमा गएर बसिन ।
चालकले हर्न बजाउन थाले । “सबै जना आउनु भयो ? आ–आफ्नो सिटका नजिककालाई हेर्नुस् है । अनि छुटेकोले हात उठाउनु होला ।“ यात्रुलाई हसाउदै बसका सहचालकले ढोकामा ढक–ढक गरे । यात्रा अघि बढ्यो । अरू यात्रु नेपाली तथा हिन्दी गीतको धुनमा मस्त त कोही निन्द्रामा मस्त हुँदा धर्मालाई भने उकुस मुकुसले छोडेको थिएन । केही घण्टाको यात्रा पछि बस सुर्खेतको बोटे चौर पुग्यो । त्यहाँ पुगेपछि धर् माले अलि बढी नै उल्टी गरिन । बसका सहचालकले पलाष्टिक हातमा थमाउँदै गर्दा फोन बज्यो । “ओहो ! उल्टी बढी नै भयो की के हो ?” फोनमा श्रीमानको आवाज सुनेर धर्मा सामान्य बन्ने प्रयास गरिन । “अब त हरेस खाई सके, हजुर सँग भेट हुन्न जस्तो लाग्न थाल्यो । मलाई केही भयो भने छोरो…….. शब्द पूर्ण नगर्दै भक्कानिन थालिन । “केही हुदैंन म छु नि, हरेस नखाऊ, रातीको यात्रा भएर होला । अब केही समयमा त कोहलपुर पुगिहाल्छ्यौ नि ।” श्रीमानले धर्मालाई सान्त्वना दिए । बस चलिरहेकै थियो । धर् माले फोन राखिन । सबै निन्द्रामा मस्त, बसमा बजिरहेका दोहरी गीत । अनि बेला बेला चालक र सहचालक बिच चलिरहेको कुराकानी…. । तर अघिसम्म आफ्नै पिर गर्ने धर्मालाई अब भने आफ्नो होइन छोराको चिन्ता लाग्न थाल्यो । घरीघरी मुर्छा पर्ने र आशु झार्ने क्रम पनि रोकिएको थिएन । बस सुर्खेत र बर्दियाको सिमाना हर्रेलेकमा पुग्यो । त्यहाँ नेपाली सेनाको चेक पोस्ट छ । सहयोगीले बसको ईन्ट्रि गरी चालकलाई अघि बढ्न सङ्केत गरे ।
हर्रेबाट करिब ३ किलोमिटर अघि नपुग्दै बसमा बच्चा रोएको आवाज निस्कियो । “कसको बच्चा हो रोको ? चुपलगाउनुस न ।” बसका सहयोगी बोले,.. निरन्तरको बच्चाको रुवाइले सबै यात्रुको निन्द्रा भङ्ग गरिदियो । सबैले बच्चा तिर ध्यान दिए । चालकले बस रोके, “के भो ती बहिनीलाई उठाऊ न ।” उनले भने,.. काखमा च्यापेको उनको ३२ महिने छोरा भुईँमा लडेका थिए । बसका सहयोगी तथा धर्माका सिट छेउका यात्रुले गहिरो निन्द्रामा परेको ठान्दै उनलाई उठाउन खोजे तर धर्म उठिनन् । शरीरको पिडा, छोराको चिन्ता र श्रीमानको अभावको आभासले रुकुमको राडी बजारबाट हर्रे सम्म निदाउन नसकेकी धर्मालाई यती बेला भने गहिरो निन्द्रा लागेको थियो । ती आँखा कहिल्यै नखुल्ने गरी । अस्ताइ सकेको थियो उनको बाच्ने आस, शरीरको पिडा, छोराको पिर अनि श्रीमान् भुट्ने गहिरो आशा सँगै मुटुको धड्कन ।
“गुरु बा मान्छेको चाल त छैन त ।” बसका सहचालक अत्तालिँदै बोले । “के भन्छन् यो ! अघि सम्म त उल्टी गर्दै थिइन त ।” चालक धर्माका नजिक गए । साँच्चिकै धर्मा सुधैका लागी अस्ताई सकेकी थिइन । धर्माको ३२ महिने दुधे बालकलाई सबै यात्रुले समात्दै भुलाउन खोजे तर ती बालकले रुन बन्द गरेनन् । उनी आफ्नी आमाको काखमा बस्न खोजिरहेका थिए । आमाको अवस्थाबारे बेखबर ती बालकलाई केही समय भए पनि शान्त गर्न यात्रुले मृत आमाकै काखमा राखिदिए । त्यसै बेला एक यात्रुले खिचेर सामाजिक सञ्जालमा राखेको फोटो यति बेला निकै भाइरल मात्र बनेको छैन सबैको मनलाई विक्षिप्त समेत पारेको छ । घडीले बिहानको करिब ३ बजाएको थियो । हर्रे र बबईको बिच जङ्गलमा हल्ला खल्ला मच्चियो । “अब के गर्ने ?” एक यात्रु बोले । “कस्तो अचम्म अनि नसोचेकै घटना घट्यो ।” अर्का यात्रु बोले । “प्रहरीलाई खबर गरौँ ।” अर्का यात्रु बोले । “होइन आर्मी ब्यारेक नजिक छ त्यसैले आर्मीलाई खबर गरौँ ।” अर्की महिला बोलिन । तत्कालै गाडीका चालक तुलाधर आचार्यले बबई प्रहरीमा घटनाको बारेमा जानकारी गराए । केही समयमा बस बबई पुग्यो । प्रहरी, बसका कर्मचारी र यात्रुहरू बिच खैलाबैला भइरहेको थियो । मोबाइलको घण्टी बज्यो । धर्माका श्रीमान् दल बहादुर बटालाको फोन थियो ।
बस चालकले फोन उठाए । श्रीमतीको मोबाइलमा पुरुषको आवाज सुनेर दलबहादुर दंग परे । “सर हामी बबई पुग्यौ । तपाईँको श्रीमतीको अवस्था निकै जटिल छ ।” बसको क्याबिनमा बसेर यात्रा गरिरहेकी एक महिला उनको गाउँकी रहिछन् । बस चालकको हातको फोन हत्तपत्त खोस्दै बोलिन,.. “दाइ भाउजू रहनु भएन ।” चर्को स्वरले रुन थालिन । दलबहादुर छाँगाबाट खसे जस्तै भए । फोनमा केही बेर मौनता छायो । फेरी गाडी चालकले फोन समाए अनि बोले “सर,..” “म कोहलपुर छु । यतै ल्याईदिनुस ।” दलबहादुरको आवाज सुनियो । भन्ने मान्छेले आत्तिएर बोले पनि धर्माको सास रहेको दलबहादुरको आस थियो । दलबहादुरले तत्कालै एक गाडी र नर्सको व्यवस्था गरे । बिहान करिब साढे ५ बजे बस कोहलपुर पुग्यो । दलबहादुर गाडी र नर्स सहित बसलाई कुरिरहेका थिए । बस पुग्न साथ नर्सले सामान्य जाँच गरिन । तत्पश्चात् धर्मालाई अस्पताल लगियो अनि केही बेर आइसियुमा राखियो तर अन्ततः डाक्टरले धर्मालाई मृत घोषणा गरे । धर्माको शनिवार बाँकेमै अन्त्यष्टी गरिएको छ ।
“मैले एम्बुलेन्सको व्यवस्था गर्छु भनेकै हो ।” हामी सँगको फोन संवादमा धर्माका श्रीमान् दलबहादुर बटालाले भने,.. “तर उनले आफ्नो अवस्था सामान्य रहेको बताएकी थिइन । गाउँमै राम्रो अस्पताल भएको भए उनी अझै केही दिन बाच्थिन होला ।” उनले अघि थपे,… “सडक पूर्ण कालोपत्रे भएको भए पनि जिउँदो मुख त हेर्न पाउने थिए । यसतर्फ कसैको चासो छैन ।” यो प्रतिनिधिमूलक पात्र भएको र त्यस क्षेत्रका आम जनताले स्वास्थ्य तथा विकासको अभावै अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको दलबहादुरले बताए । मृतक धर्माका ३२ महिने छोरा सहित ५ वर्षकी छोरी पनि छिन ।
मृतक धर्माका श्रीमान् : दलबहादुर बटाला
बस चालक : तुलाधर आचार्य
र प्रहरी प्रशासन सँगको कुराकानीमा आधारित