नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी त्याग्ने भएका छन् । शनिबार र आइतबार चलेको स्थायी समिति बैठकमा श्रेष्ठले प्रवक्ताको जिम्मेवारीबाट हट्ने चाहाना व्यक्त गरेको बैठकमा सहभागि एक स्थायी समिति सदस्यले जानकारी दिए ।
श्रेष्ठले नेकपा हुँदा नै आफू प्रवक्तामा बस्न नचाहेको भन्दै अब पनि त्यही जिम्मेवारीमा रहन नचाहेको बताएका थिए । ‘म पार्टीको प्रचण्डपछिको नेता हुँ, प्रवक्ता किन भइराख्ने भन्ने उहाँको भावना छ,’ ती स्थायी समिति सदस्यले भने ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को बैठकबाट टुंग्याउने भनेपछि यो विषयमा आज कुनै निर्णय नभएको हो । यसअघि नेकपाको समेत प्रवक्ता रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रको पनि प्रवक्ताको भूमिकामा छन् । एकता अघि पम्फा भुसाल माओवादी केन्द्रको प्रवक्ता थिइन् ।