काठमाडौं । नर्भिक हस्पिटलमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ।
घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे निधन भएको नर्भिक अस्पतालले जनाएको छ।अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।
खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्। गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो।
नर्भिक अस्पतालले जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो। सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको अस्पतालले जनाएको छ।
अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ।
भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो।