काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। साथै‚ प्रदेश १‚ बागमती‚ गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव र देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले मंगलबार बिहान देशका अधिकांश स्थानमा मौसम बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो र राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।