कैलाली – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा झडप हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई थप उपचारको लागि धनगढी ल्याइएको छ । अन्य तीन जना सामान्य उपचार पछि घर फर्किएका छन् ।
तीज कार्यक्रम हेर्ने क्रममा मादक पदार्थ सेवन गरेर दुई समूहबिच झडप भएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । उनका अनुसार कृष्णपुर नगरपालिका–१ का चन्द्रबहादुर धामी, नरेन्द्र भण्डारी, नारायण दमाई र गोविन्द दमाईको टाउकोमा चोट लागेको छ ।
सामान्य घाइते रहेका कृष्णपुर नगरपालिका–१ कै बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री घर फर्किएका छन् । कुटपिट गरेको आरोपमा कृष्णपुर नगरपालिका २ का विजय भण्डारी र १ का प्रेम महरालाई पक्राउ गरिएको उनले बताए । अझै केहि फरार रहेको र उनीहरुको खोज कार्य भइरहेको उनको भनाइ छ ।