धान उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको कैलालीमा बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। वर्षा र डुवानले जिल्लाभरि करिब २१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबाली पूर्ण रुपमा क्षति भएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्र शर्माका अनुसार ले प्रारम्भीक तथ्यांक हेर्दा २१ हजार हेक्टरको धानबाली पूर्ण रुपमा नष्ट भएको बताए।लामो समय पानीमा रहेकाले धान टुसाउन थालेको उनले बताए। कैलालीमा ७० हजार हेक्टरमा धानबाली लगाइन्छ। ज्ञान केन्द्रका अनुसार प्रतिहेक्टर औषत ४५ क्वीन्टल धान उत्पादन हुने गरेको छ।
उत्पादकत्वका आधारमा करिब साढे नौ लाख क्वीन्टल धान नष्ट भएको ज्ञान केन्द्रले जनाएको छ। प्रतिक्वीन्टल धान दुई हजार रुपैयाँका दरले हिसाब गर्दा पनि धानबालीमा वर्षाले करिब दुई अर्ब रुपैयाँको क्षति भएको शर्माले बताए। तोरी, मसुरो, आलुसमेतमा गरी करिब तीन अर्बको क्षति भएको अनुमान रहेको उनले जानकारी दिए।
कुल धानबाली लगाउने क्षेत्रमध्ये ५० प्रतिशतमा भित्र्याइसकेको र १५ प्रतिशतजति काट्न बाँकी रहेको ज्ञान केन्द्रले जनाएको छ।