बुधबार साँझ ६ बजे । टीकापुर नगरपालिका वडा नम्बर ५ मनिकापुरका बाढी प्रभावित शम्भु परियार सडक छेउमै उभिएका थिए । घरभरि पानी जमेपछि उनी सुरक्षित बसोबास खोज्दै उच्च क्षेत्रमा रहेको सो सडकमा थिए । शनिबार रातीदेखि परेको अविरल वर्षाका कारण उनी अहिले विस्थापित छन् ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको बाँध कर्णाली नदीले भत्काएपछि नदीको भंगालो कैलालीको पूर्वी क्षेत्रका बस्तीहरु पसेको थियो । मंगलबार साँझ घरमै खाना खाएर सुतेका शम्भुको बुधबार बिहानै घरदेखि भान्सासम्म पानी जमेको थियो । ‘मंगलबारदेखिनै पानी परिरहेको थियो, बुधबार दिउँसो १२ बजेतिर आँगनमै पानी पस्यो । दुई बजेतिर भान्सा र कोठा पानीले भरियो,ईट्टा थपेर चुलो माथि ल्याउन पनि सकिएको छैन, घरभित्र पस्न सक्ने अवस्था छैन, रोडमै खाना पकाउन अन्न छैन’, उनले लोकपथसँग भने ।परियारको घरभित्र पानी जमेपछि घरभित्र रहेका चामल, दाल, गहुँलगायतका अन्नपात सबै भिजेको छ ।
सोही बस्तीका स्थानीय अजित रावलको पनि घर पानीले डुबानमा पर्यो । सडक छेउमै भेटिएका उनले भने –‘डुबानको समस्या विगतदेखिनै झेल्नु परेको थियो । तर, यो वर्ष अत्यधिक वर्षाका कारण घरभित्र बस्न पनि डर छ ।’ उनका अनुसार बुधबार बिहानदेखि बस्तीमा पानी बढ्दै गएको थियो ।
शम्भु र अजितजस्तै सो बस्तीका तीन सय घरधुरी सुरक्षित रहन सडकमा आश्रित छन् । सोही बस्तीका स्थानीय भरत साउदले भने –‘यो वर्षको वर्षाले केही घर भत्काएको छ भने सबै घरभित्रको अन्नपातमा पनि क्षति पुर्याएको छ ।’ मनिकापुरमा यसअघि २०६६ सालमा डुबान भएको थियो । भरतले भने –२०६६ सालमा पनि बस्तीमा बाढी पसेको थियो तर, यसरी अन्न र घर नै भत्किने गरी डुवान भएको थिएन । मानिसले यसरी सडकमा पनि आउनु परेको थिएन ।’
मनिकापुर बस्तीझै टीकापुर नगरपालिकाका अन्य वडामा पनि डुवान तथा बाढी पसेको छ । उच्च क्षेत्रमा रहेका घर बस्तीमा कर्णाली नदीको भंगोलले क्षति गरेको थिएन । टीकापुर नगरपालिका–८ मा मात्रै करिव ८ सय घरपरिवार विस्थापित भएका छन् । बाढीले उनीहरु सबैको गाँस र बास बगाइदिएको छ । उनीहरु यतिबेला विद्यालय, सडक किनार र आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् ।
रातको समयमा बाढी बस्तीमा पसेकाले स्थानीयले खाद्यान्न लत्ताकपडालगायतका सामान जोगाउन नसकेको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । ‘बाढी पीडितले शरीरको लुगाबाहेक केही जोगाउन सकेनन’ उनले भने । अचानक बाढी आउँदा सबैको ध्यान ज्यान जोगाउनेतर्फ रह्यो ।
बाढी टीकापुर नगरपालिका वडा नम्बर ८ मा रहेको अर्नुवा, सुनारटोल, वनगाउँ फाँटा, तिमिल्सैन, रामडाँडा, बटनपुरका प्राय सबै बस्तीमा पसेको छ । बाढी प्रभावित स्थानीयलाई त्रिभुवन मावि, राष्ट्रिय प्रावि, कालिमाटी प्रावि र वनगाउँ, फाँटा, सूर्यपुरलगायतका सुरक्षित स्थानमा राखिएको वडा अध्यक्ष ठकुल्लाले बताए ।
टीकापुर नगरपालिका वडा नम्बर ७ का वडासचिव लोकबहादुर बुढाका अनुसार सो वडामा ५० र वडा नम्बर ९ मा ६० परिवार बाढीको चपेटामा परेका छन् । वडा नम्बर ७ का १८ परिवार मात्रै कर्णाली माविमा बसेको उनले जानकारी दिए । टीकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा रहेको तटबन्ध भत्काएर कर्णाली नदीको बाढी गाउँ पसेको थियो । बाढीले सत्ती नजिकै करिब तीन सय मिटर हुलाकी सडक समेत भत्काएको छ । सो सडक भत्किएपछि बाढी वडा नंम्बर ८ का बस्तीमा छिरेको थियो ।
टीकापुर नगरपालिकाका अनुसार एक हजार पाँच सय ९६ घरपरिवार बाढीका कारण विस्थापित भएका छन् । विस्थापित भएका मध्ये एक हजार ८३ विद्यालय, एक सय ९८ सडक छेउछाउ र तीन सय १५ आफन्तकोमा आश्रय लिएर बसेका छन् । उनीहरुमध्ये एक सय २५ परिवारको घर पूर्ण क्षति र चार सय ३० परिवारको आशिंक क्षति भएको छ । नगरपालिकाले २ हजार २ सय ५१ परिवार बाढीबाट प्रभावित भएका जनाएको छ ।
बाढीपीडित भन्छन् ‘खान देऊ’
घरभित्र रहेको अन्नपातमा बाढीले क्षति पुर्याएपछि अहिले कैलालीका बाढीपीडितलाई खानाको समस्या रहेको छ । बाढी प्रभावित जानकी गाउँ पालिका वडा नम्बर ९ का छविलाल माझिले लोकपथसँग भने –‘हाम्रो घर डुवेको, अन्नपातमा क्षति पुर्याएको जानकारी लिन प्रदेशका मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधि आए । तर, हामीलाई अहिले खानाको जोहो गर्न समस्या छ ।’ उनले स्थानीय सरकारहरुले चाउचाउ, विस्कुट, चिउरा, पिउने पानीबाहेक अन्य केही व्यवस्था गर्न नसकेको गुनासो गरे ।
उनीजस्तै अन्य बाढी प्रभावितहरु खानाकै व्यवस्था गर्न माग गरिरहेका छन् । कर्णाली नदीकै बाढीले जानकी गाउँ पालिकामा १ सय १६ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् । विपत् व्यवस्थापन शाखा प्रमुख नेत्र न्यौपानेका अनुसार वडा नम्बर ९ मा ६०, वडा नम्बर ३ मा ५० र वडा नम्बर ६ मा ६ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई विद्यालयमा राखिएको छ । बाढीले जानकी गाउँ पालिकाको जगतपुर, मूर्तिया, पूर्व खैरीफाँटा, कटासेलगायतका गाउँमा धेरै नोक्सान गरेको जनाइएको छ ।