भक्तपुर, वैशाख १
भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटमा बिहीबार सखारैदेखि बिस्केट जात्रा रौनक छाएको छ।
विशेषतः नेवार समुदायले मनाउने जात्रामा सबै समुदायका स्थानीय सहभागी भएर शुभकामना साटासाट गरिरहेका छन्।
स्थानीय चँखुतिर्थमा बिहानैदेखि जात्रालुको भिड लागेको हो। उनीहरू त्यहाँ नुहाएर विभिन्न देवदेवीको दर्शन गरि मनोकामना पुरा गरिरहेका छन्। चँखुतिर्थमा राखिएका दुई वटा रथमा कुमारी, गणेश र भैरवका मूर्ति छन्।
पकाण्डोलबाट ल्याइएका श्रेष्ठ र मानन्धर गुठीका रथमा पूजा भैइहेको हो। नेवार युवामा संस्कृति मोह बढेको छ। उनीहरू सिन्दुरे जात्रा गर्दै धिमे र बाँसुरी बादनमा मस्त छन्।
यहाँ वि.सं. १९६१ वैशाख १ देखि जात्रा मनाउन थालिएको हो। थिमीबाट आएका नेवार पकाण्डोलमा बस्न थालेपछि बिस्काः जात्रा मनाउन थालिएको। यहाँ राखिएका रथ बैशाख २ गते गाउँमा डुलाइन्छ। जात्राकै अवसरमा घरबाट बाटो नाप्दै तीर्थस्थलमा शरीरमाथि १०८ बत्ति बाल्ने चलन छ।