मतदानको मिति नजिकिदै गर्दा कैलारी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू आफ्ना अजेन्डासहित मतदाताको मन जित्न घरदैलो तथा बिभिन्न गाउँटोलमा चुनावी कार्यक्रम गरिरहेका छन्।
कैलारी गाउँपालिकामा पालिका नेतृत्व गर्ने शाहस बोकेर महिला नेत्री झुमा चौधरी पालिका अध्यक्षको लागि प्रतिस्पर्धामा छिन् । उनको उम्मेदवारीले महिला नेतृत्व उपाध्यक्ष र उपप्रमुखमा मात्र होइन, नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण दिएको छ ।
नेकपा एमालेबाट उम्मेदवार बनेकि उनले निर्वाचन जितेर नेतृत्वमा आए पालिकामा विकास र नमूना काम गरेर देखाउने दाबी गरेकि छन् ।
झुमा यसअघि २०७४ सालमा पनि एमालेबाट उपाध्यक्षको उम्मेदवार थिइन् । उनी झिनो मतान्तरले पराजित भएकी थिइन् । पार्टीको गाउँपालिका अध्यक्ष झुमा चौधरी माओवादीबाट उम्मेदवार बनेका लाजुराम चौधरीसँग प्रतिस्पर्धा गर्दैछिन् । गठबन्धनको निर्णय स्विकार्न नसकेर आफुखुसी उम्मेदवार दर्ता गराउदा काङ्ग्रेसका उम्मेदवारलाई पार्टिले कारबाहि गरेको खुल्न आएकाले एमालेकी उम्मेदवार झुमा बलियो देखिन्छन ।
आफूसँग भौतिक विकासँगै सामाजिक विकासका थुप्रै एजेन्डा भएकाले तिनै एजेन्डा लिएर मतदातामाझ गएर भोट मागिरहेको उनले बताइन् ।
‘माग र आवश्यकताका आधारमा युवालाई सीप र क्षमता विकास तालिम दिने र बीउ पुँजी दिएर स्वदेशमै स्वरोजगार बनाउने अभियान चलाउने छु,’ उनले भनिन् ।
उनी भन्छिन्, ‘महिला उपाध्यक्षमा मात्र सीमित हुने होइन, नेतृत्वमा महिला पुगेर पुरुषहरूको सिन्डिेकट तोड्नुपर्छ ।’
‘माओवादीले गत निर्वाचनमा मनी र मसल प्रयोग गरेर चुनाव जितेको हो । एमालेसँग बलियो संगठन छ । गत निर्वाचनमा म पराजित भए पनि जनताको बीचमा रहेर काम गरे । यसपटक निर्वाचन सहज रूपमा जित्छु,’ झुमा भन्छिन् ।
महिलामा संवेदनशीलता र मैत्रीभाव हुने भन्दै झुमाले महिला हिंसा, लैगिक विभेद जस्ता महिलाका क्षेत्रमा कामहरू गर्ने आफ्नो प्रतिबद्धता जनतामाझ पुर्याउने योजना अगाडि सारेको बताइन् ।