काठमाडौंः आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका उम्मेदवारको चर्चा चौतर्फी छ । त्यसमा पनि केन्द्रीय राजनीतिमा सक्रिय नेता तथा उनीहरूका प्रत्यासीको टक्करले चुनावी प्रचारलाई थप रोचक बनाएको छ । यस्तै माहौल छ दाङको निर्वाचन क्षेत्र नम्बर २ मा ।
दाङको निर्वाचन क्षेत्र नम्बर २ मा हेवीवेट मानिएका एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन् । पोखरेललाई सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले कडा टक्कर दिने विश्लेषण हुँदै आएको छ ।
एमाले महासचिव पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । पार्टीमा प्रभावशाली भूमिका रहेकाले पनि पोखरेललाई निर्वाचनमा जित हासिल गर्नैपर्ने दबाब छ । उनको चुनाव प्रचार पनि सोही रुपले अघि बढेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनले मुख्यमन्त्री हुँदा चुनावी माहौल बनाउने गरी काम गरेको स्थानीयस्तरमा चर्चा हुने गरेको छ । तर अहिले चुनावी प्रचार र सहभागी नेता कार्यकर्ता तथा उम्मेदवारको प्रतिस्पर्धी व्यवहारले माओवादी नेतृ शर्माले कडा टक्कर दिने स्थानीय बताउँछन् ।
मतदातासँग चुनावी प्रचारका कार्यक्रमबाहेक अन्य समयमा राम्ररी घुलमिल नभएको आरोप खेपेका पोखरेललाई माओवादी नेतृको व्यवहारले जित्ने आँकलन पनि गरिएको छ । यद्यपी पोखरेल पार्टीका कुशल संगठक हुन् ।
कानून निर्माणसहित जनतासँग भलाकुसारी गर्ने गरे पनि विकास निर्माणका कामलाई प्राथमिकतामा नराखेको आरोप माओवादी नेतृ शर्मालाई छ । यी जनताले निर्वाचनमा होमिएका दुई प्रत्यासीलाई गरेको तुलनात्मक विश्लेषण हो ।
जनताले विगतमा गरेको कामको समीक्षा र अहिलेको चुनावी प्रचार शैली, राजनीतिक रुपमा हुने बेग्लाबेग्लै टिप्पणीले पनि दाङ-२ को चुनावी सरगर्मी रोचक हुने देखाउँछ ।
दाङ-२ मा यसअघि सत्ता गठबन्धनबाट पूर्वसभामुख कृष्णबहादुर महरा यो निर्वाचन क्षेत्रको उम्मेदवार बन्ने चर्चा भए पनि पछि गठबन्धनले रेखा शर्मालाई शंकर पोखरेलको प्रतिस्पर्धी बनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ३ जना स्वतन्त्र उम्मेदवार छन् । यी मध्ये पोखरेल र शर्माबीच कडा टक्कर हुने र राप्रपाका भोलानाथ योगी पनि प्रतिस्पर्धामा अब्बल उत्रने विश्लेषकहरू बताउँछन् ।
उम्मेदवार दर्तापछि पोखरेलले एमालेलाई मुलुककै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गर्दै जनमन अनुसार काम गर्ने बताएका छन् । गत प्रदेशसभाको निर्वाचनमा प्रदेशबाट निर्वाचित पोखरेल लुम्बिनी प्रदेशको मुख्य मन्त्री हुँदा दाङलाई राजधानी बनाउन भूमिका खेलेकाले दङ्गालीका प्रिय मानिन्छन् । यो निर्वाचनमा दङ्गालीले कस्तो माया गर्छन् त्यो हेर्न बाँकी छ ।
गठबन्धनकी उम्मेदवार शर्माले जनताका आवश्यकतालाई ध्यानमा राख्दै काम गर्ने दाबी गर्दै आएकी छन् । नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य शर्माले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेर काम गरेकी छन् । आफू पदमा रहँदा दङ्गालीको मन र मत कति जित्ने काम गरिन त्यो पनि निर्वाचन परिणामले देखाउनेछ ।
यस्तो छ मत आँकलन
दाङ–२ मा घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका पर्छ । यस्तै, तुलसीपुर उपमहानगरका १६, १७, १८, १९ नम्बर वडा पनि सोहि क्षेत्रमा पर्छ । गत स्थानीय तहको निर्वाचन अन्तर्गत घोराही उपमहानगरपालीकाको मेयरमा एमालेका नरुलाल चौधरी ३१ हजार ७२८ मत ल्याएर विजयी भए । उपमेयरमा एमालेकै हुमा डीसी ३० हजार चार सय ३ मत ल्याएर विजयी भइन् । यो क्षेत्र भित्र पर्ने तुलसीपुर १६ मा स्वतन्त्र, १७ मा कांग्रेस, १८ र १९ नम्बर वडामा एमाले निर्वाचित भएको थियो ।