बझाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मष्टा गाउँपालिका–४ चिउरीमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ।
‘अहिलेसम्म ६ जनाको शव फेला परेको छ। बाँकी घाइतेको उद्धार गरेर उपचारका लागि पठाइएको छ,’ डीएसपी भण्डारीले नेपाल लाइभसँग भने।
भण्डारीका अनुसार दुर्घटनामा परेको जीप टुक्रा–टुक्रा भएको छ। ‘जीप सडकबाट खसेर तल चट्टानमा बजारिएर टुक्रा टुक्रा भएको छ। जसकारण हामीले जीपको नम्बर समेत पहिचान गर्न सकेका छैनौं,’ डीएसपी भण्डारीले भने।
जीपमा कम्तीमा १२ जना सवार रहेका बुझिएको छ।