धनगढीः धनगढी उपमहानगरपालिकाले धनगढीको मुख्य सडक छेउमा रहेका भौतिक संरचना हटाउन भदौमा सुचना जारी ग¥यो। उपमहानगरपालिकाको वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोकसम्म सडक छेउका संरचना हटाउन निर्देशन दिएको थियो
उपमहानगरले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरेर तिहारलगत्तै सडकको दायाँबायाँ १५÷१५ मिटर सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ। उपमहानगरको यो निर्णयलाई नगरवासीले खुलेर समर्थन गर्दै आ–आफ्नो संरचना भत्काउन सुरु गरेका हुन्। हुलाकी सडक आयोजनाले जग्गाधनीको अवरोधलाई दोष लगाउँदै क्याम्पस चोकदेखि ट्राफिक चौराहसम्म संरचना हटाउन नसकी अलपत्र छाडेको सडकमा उपमहानगरपालिकाले डोजर चलाएको छ।
कैलालीपुलदेखि क्याम्पस चोकसम्मको करीब दुई हजार तीनसय मिटर सडक फराकिलो बनाउने योजनाअनुसार संरचना हटाउने काम भइरहेको छ। सडकको केन्द्र भागदेखि दायाँबायाँ १५÷१५ मिटर सडक विस्तार गर्ने योजना अनुसार असोज मसान्तसम्म संरचना हटाउन गत भदौ १३ गते सार्वजनिक सूचना जारी गरिएको थियो। तर व्यवसायीले दशैं, तिहार र छठ पर्व व्यापारको मुख्य समय भएकाले छठ पर्वसम्म पर्खिन आग्रह गरेका थिए।
उनीहरुको आग्रहलाई उपमहानगरले मनन गर्दै छठपर्व सकिएलगत्तै नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानासहितका जनप्रतिधि आफै फिल्डमा पुगेर सरकारी स्वामित्वको सेती प्रादेशिक अस्पताल भवनमा निर्मित्त मुख्य सडकतर्फका सटरमा डोजर चलाएका थिए। उपमहानगरले सुरुमा तत्काल रेखाङ्कन गरिएकामध्ये सरकारी स्वामित्वका भौतिक संरचनामा डोजर चलाइएको थियो। जग्गाधनीले आफैं खाली नगरे निजी संरचना पनि हटाउने उपमहानगरपालिकाको योजना थियो। तर केही व्यवसायीले भने सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना आफैंले हटाउन सुरु गरेपछि सडक फराकिलो बनाउन उपमहानगरलाई थप बल मिलेको छ।
धनगढीको क्याम्पसचोकदेखि भन्सार रोडसम्मको सडक हुलाकी सडक आयोजना अन्तर्गत निर्माण हुने भनिए पनि तत्कालीन समयमा भौतिक संरचना भत्काउनुपर्ने भएकै कारण भारतीय कम्पनीले सर्वे गर्न अस्वीकार गरेको थियो। सर्वे हुन नसकेकै कारण हुलाकी सडक योजना कार्यालय धनगढीले क्याम्पस चोकदेखि भन्सारसम्मको साढे ६ किलोमिटर वाइपास रोड निर्माण गरेको थियो। क्याम्पस चोक सरोज आयल स्टोरलाई जिरो प्वाइन्ट मानेर सर्वे गरिएको भन्सार रोडसम्मको वाइपास सडक निर्माणकै चरणमा छ। क्याम्पस चोकदेखि कैलाली पुलसम्मको २३ सय मिटर सडक विस्तारका लागि धनगढी उपमहानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेको छ।
कैलाली पुलदेखि क्याम्पसरोड हुलाकी सडकको शून्य विन्दुसम्म सडक चौडा बनाउने काममा घरधनीहरुले खुलेर सहयोग गर्न थालेका छन्। उपमहानगरले सडक चौडा बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै घरधनीहरुले आफ्नो संरचना भत्काउन सुरु गरेका छन्।
‘उपमहानगरपालिकाले १५ मिटर छोड्नु भनेको थियो तर मैले १६ मिटर छोडेकी छु,’ एक घरधनी कुमारीदेवी सुवेदीले भनिन्, ‘उपमहानगरले सडक चौडा बनाउन गरेको निर्णय एकदमै सहि छ, सबैले यो निर्णको पालना गरेर सहयोग गर्ने हो भने धनगढी साच्चिकै सुन्दर हुन्छ।’सडक क्षेत्राधिकारभित्र पर्ने अधिकांश सरकारी भौतिक संरचनामा उपमहानगरपालिकाले डोजर चलाइसकेको छ।
अधिकांश निजी भौतिक संरचना भने घरधनी आफैले भत्काउन थालेका छन्। मुख्य सडकमा ट्राफिक जाम बढ्दै जाँदा नगरवासीले हैरानी खेप्नु परिरहेको अवस्थामा घरधनी आफैले आफ्नो संरचना भत्काउन सुरु गरेर उपमहानगरको निर्णय कार्यान्वयनमा समर्थन बढाइरहेका छन्। उपमहानगरको सडक चौडा बनाउने योजनालाई समर्थन गर्दै ५ दाजुभाइले सुनचादीको व्यवसाय गर्दै आएको भौतिक संरचना भत्काएको घरधनी उमेश शैजुले बताए।
कैलालीपुलदेखि जिल्ला प्रहरी कार्यालयसम्म अधिकांश भौतिक संरचना धमाधम खाली गराइदैँछ। बाँकी भौतिक संरचना खाली गर्न घरधनी आफैले आफ्नो संरचना भत्काउन सुरु गरेका छन्। सडक फराकिलो बनाउने कार्यमा नगरवासीले सहयोग गरेकाले निरन्तर रुपमा काम भइरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए।
उनले भने, ‘धनगढीको विकासप्रति बढेको लहरका कारण बिना अवरोध सडक विस्तार गर्न निकै सहज भएकाले उपमहानगरवासीप्रति गौरभान्वित भएको छु, यसअघि मुद्दा दायर गरेकाहरुले पनि धमाधम फिर्ता लिएर ‘हाम्रो धनगढी हामी बनाउछौँ’ अभियानमा समर्थन जनाइरहेका छन्।’ कैलालीपुलदेखि क्याम्पसरोडसम्म दुई सय २९ भौतिक संरचना भत्काएर सडक फराकिलो बनाउने कार्यमा उपमहानगरवासीको समर्थन बढ्दै गएको छ।