प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र महेन्द्रनगर कञ्चनपुरले स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य सचेतना गीत तथा नाटकहरूको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनको आधारमा प्रथम, दोस्रो र तेस्रो भएका विजेताहरूको नामावली सार्वजनिक गरीएको कार्यालय प्रमुख हेमराज खड्काले जानकारी दिए ।
नाटक विद्यातर्फ काठमाडौँ का जया ओझा ७४ अङ्कका साथ प्रथम भएका छन भने दार्चुला लेकमका रमेश प्रसाद जोशी ७१ अङ्कका साथ दोस्रो भएका छन् । यस्तै मेलौली बैतडीका प्रकाश बडू र सुशीला भट्टले सम्मान ६८ अङ्क ल्याएका छन् ।
गीत विद्यातर्फ भने ६८ अङ्कका साथ धनगढीका दर्पण शर्मा प्रथम, ६७ अङ्क ल्याउँदै डोटी बोगटानका शेरबहादुर बोगटी दोस्रो र ६३ अङ्क ल्याउँदै मेलौली बैतडीका प्रकाश बडू तेस्रो भएका छन् ।
नाटक विद्यातर्फ प्रथमलाई ३० हजार,दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार सँगै प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै गीत विद्यातर्फ प्रथमलाई १५ हजार दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजारसँगै प्रमाणपत्र प्रदान गरिनेछ ।
विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरणका लागी अर्को सूचनाबाट मिति तोकिने कार्यालय प्रमुख खड्काले बताए ।
सचेतनामूलक नाटक र गीतमा जनस्वास्थ्यका मुद्दा र समाधानका उपाय,स्वास्थ्य प्रवर्द्धनका विषय,स्वास्थ्य,जीवनशैली तथा सरसफाइ,सर्ने तथा नसर्ने रोगहरूबारे जानकारी सँगै कानुनी सचेतनाबारे पनि वर्णन गरिएको छ । उत्कृष्ट गीत ३ देखी ५ मिनेट र नाटक १२ देखी १५ मिनेटको उत्पादन पछि प्रसारण गरिने खड्काले जानकारी दिए ।
केन्द्रले कार्तिक २८ गतेको सूचना मार्फत स्वास्थ्य सचेतना गीत र नाटक लेखन प्रतियोगितामा सहभागी हुन आव्हान गरेको थियो ।