सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएको छ। प्रदेशअन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ गते मनाइने भएको हो। सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त सम्पूर्ण नेपालभरका पचाञ्ङ्गहरुमा २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष निकालेका थिए। सो निष्कर्ष गत पुस २५ मै स्वीकृति भएको थियो।
यसैबीच शुभ पञ्चाङ्ग परिवारका पञ्चाङ्गकार ज्यो। दामोदर अँठोला जोशीले एक प्रेस विज्ञप्ति जारी गरेर भदौ ७ गते भव्यरुपमा गौरा पर्व मनाउन आग्रह गरेका छन्। ‘शास्त्रीय मान्यताअनुसार यो पर्व अगस्त्योदय पश्चात् र असोज अर्थात् कन्यार्कम गर्नु हुँदैन भन्ने सर्वविदितै छ,’ उनले भनेका छन्।
तत्कालीन राज्यमन्त्री स्व। प्रेमसिंह धामीको पहलमा २०५२ सालदेखि गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशमा बिदा दिन थालिएको थियो। गौरामा देउडा खेल्ने र प्रसादको रुपमा विरुडा ग्रहण गर्ने चलन छ।
गौरा पर्व सुदूरपश्चिम प्रदेशका डोटी, डडेलधुरा, बैतडी, दार्चुला तथा पछिल्लो समय तराईका कैलाली, कञ्चनपुर र काठमाडौँमा समेत विशेष रुपमा मनाइने गरिएको छ। दुर्वाष्टमीमा सुरु हुने गौरा पर्व ठाउँअनुसार चार दिनसम्म मनाइने गरिन्छ।