धनगढी, २० असोज । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको नेपाल सुपर लिग (एनएसएल) को साबिक उपविजेता टोली धनगढी एफसीले आफ्नो ब्रान्ड एम्बास्डरमा कलाकार तथा मोडल मिस पवि (पवि साँकी) लाई नियुक्त गरेको छ ।
धनगढी एफसीका सिईयो सकुश केसी र कलाकार मिस पवीले शुक्रवार एक कार्यक्रमबिच ब्रान्ड एम्बास्डर नियुक्तिको सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार मिस पवि यस सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बास्डर हुनेछिन् । धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् ।
धनगढी एफसीको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि मिस पवीले एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन् ।
‘नेपाल सुपर लिगको साबिक उपविजेता टोली धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रूपमा जोडिन पाउँदा म एकदमै उत्साहित छु । कहिले दशरथ रङ्गशालामा खेल होला र कहिले खेल हेर्न जाउला भनेर आतुर पनि भैसँके, उनले भनिन्,‘पहिलो सिजनमा सबैको अपार माया साथ समर्थन पाएर धनगढी एफसी उपविजेता बनेको थियो । यस सिजनमा पनि नयाँ उत्साहका साथ आएको छ । धनगढीले अझै राम्रो फुटबल पस्किँदै दर्शकहरुलाईं मनोरञ्जित पार्ने विश्वास छ ।’
धनगढी एफसीका सिईयो केसीले सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रतिनिधित्व गरिरहेको धनगढी एफसीको ब्रान्ड एम्बास्डरको रूपमा सोही क्षेत्रकै लोकप्रिय कलाकार मिस पविलाई ब्रान्ड एम्बास्डरको रूपमा पाउँदा खुसी व्यक्त गरे ।
‘सुदूरपश्चिमबाट उदाउँदै लोकप्रिय राष्ट्रिय कलाकार समेत रहनुभएकी मिस पविलाई धनगढी एफसीको ब्रान्ड एम्बास्डरका रूपमा पाउँदा हामी अत्यन्तै हर्षित छौँ,’केसीले भने, उहाँको आगमनले टोलीमा नयाँ ऊर्जा थपिएको छ । उहाँलाई धनगढी एफसी परिवारमा स्वागत गर्न चाहन्छु ।’
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा हुँदै छ ।
एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान् मिडफिल्डर आशिष चौधरी रहेका छन् । आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ ।