नेपाल सुपर लिग (एनएसएल)को पुरस्कार रकम अघिल्लो संस्करणमा भन्दा दोब्बरले बढेको छ। अघिल्लो संस्करणमा च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएकोमा यो संस्करणमा च्याम्पियन हुने टोलीले ७० लाख पाउने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ।
लिगको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका मेनेजिङ डाइरेक्टर श्रेयांश कार्कीले पुरस्कार रकम बढ्ने भए पनि यतिनै हुने भनेर निर्क्योल भइनसकेको बताएका थिए।
जारी लिगमा आज दोस्रो क्वालिफायर्समा पोखरा थण्डर्स र ललितपुर सिटी भिड्दैछन्। आजको खेलमा विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
जारी लिगको उपविजेता हुने टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ। आयोजकले प्रतियोगिताको भ्यालुएबल खेलाडी बन्दै ‘गोल्डेन बल’ जित्ने खेलाडीले २ लाख रुपैयाँ पाउने बताएको छ।
त्यस्तै, ‘गोल्डेन बुट’ जित्ने शीर्ष गोलकर्ता, ‘गोल्डेन ग्लभ्स’ पाउने उत्कृष्ट गोलकिपर र इमर्जिङ प्लेयरले १/१ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले आगामी संस्करणमा पुरस्कार रकम अझै बढाएर लैजाने बताएकी छन्।